लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौं झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् ।
बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ ।
पुलमाथि पानी पुुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।
पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत वर्ष साउन २५ गते बुढीगङ्गामा आएको बाढीले ४ वटा झोलुङ्गे पुल बगाएको थियो भने नदीमा रहेका दर्जनौं पुल उच्च जोखिममा परेका थिए ।
जोखिममा बनेका पुललाई व्यवस्थापन तथा मर्मत नगर्दा वर्षा शुरू भएयता दर्जनौं पुल बाढी र पहिरोको उच्च जोखिममा रहेको बडिमालिका–२ का वडाध्यक्ष डम्मर महतले बताए ।
कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल सधैं वर्षाको समयमा जोखिम बन्ने गरेको छ । यससँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।
बाजुराको उत्तरपूर्वी क्षेत्रका वाई र वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, बाजुराको रुगिन र मुगु जोड्ने पुल तथा बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेको स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए । पुललाई छोप्ने गरी कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट क्षेत्रमा आवागमन प्रभावित भएको अध्यक्ष शाहीको भनाइ छ ।
अछाम र बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुली खोला, पानीलाउला, दहकोट, मौरे, कोटिलाको दैया लगायतका नदीमा रहेका झोलुङ्गे पुल पनि जोखिममा बनेको स्थानीयले बताएका छन् । अन्य विकल्प नभएपछि ज्यानै बाजी राखेर पुलमार्फत आवतजावत गर्नुपरेको बडिमालिका–२ का स्थानीय करवीर नाथले बताए ।