०५ असार २०८३, शुक्रबार

सीएनएनको पत्रकारलाई थर्काए बाइडनले, पछि मागे माफी (भिडियो)

असार ३, २०७८
सीएनएनको पत्रकारलाई थर्काए बाइडनले, पछि मागे माफी (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्तापछि आयोजित पत्रकार सम्मेलनमा सीएनएनका एक पत्रकारलाई थर्काएका छन् । 

पुटिनले आफ्नो व्यवहार परिवर्तन गर्ने विषयमा किन तपाईंमा आत्मविश्वास छ भनी सीएनएनकी काइटलान कोलिन्सले सोध्दा विचलित भएका बाइडनले भने, ‘म आत्मविश्वासी छैन । के हो ताल, जतिखेर पनि के हो यो पारा ?’
 

कोलिन्सले बोल्न खोज्दा बाइडनले भने, ‘म आत्मविश्वासी छु भनेर कहिले भनें ?’

ल, सीधासीधा कुरा गरौं,’ बाइडनले भने । ‘उनीहरूलाई बाँकी विश्वले प्रतिक्रिया दिएमा र विश्वमा उनीहरूको हैसियत घटेमा उनीहरूको व्यवहार परिवर्तन हुन्छ ।’

‘म केही कुरामा पनि विश्वस्त छैन,’ उनले थपे । ‘मैले तथ्य मात्र भनेको हो ।’

पुटिनले पहिले व्यवहार परिवर्तन नगरेको अनि बाइडनसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले साइबर आक्रमणमा संलग्नतालाई अस्वीकार गरेको र मानवअधिकार उल्लंघनलाई बेवास्ता गरेको देखिएको कोलिन्सले बताइन् । 

‘अनि त्यसो हुँदा संरचनात्मक बैठक कसरी भयो त ?’ उनले सोधिन् । 

‘तपाईं त्यो बुझ्नुहुन्न भने गलत पेशामा हुनुहुन्छ,’ बाइडनले झर्किंदै भने । 

पछि बाइडनले एयर फोर्स वान नजिक सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै कोलिन्सको प्रश्नमा दिएको उत्तरमा माफ मागे । 

‘झडंग रिसाएकोमा माफी माग्छु,’ उनले भने । ‘तपाईंहरू कहिल्यै सकारात्मक प्रश्न गर्नुहुन्न ।’

salt training

कमेन्ट गर्नुहोस्