१२ असार २०८३, शुक्रबार

सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ– ७६ (५) को अवस्थामा दलीय ह्वीप नलाग्ने कुरा संविधानविपरीत

सर्वोच्चलाई प्रधानमन्त्री ओलीको जवाफ– ७६ (५) को अवस्थामा दलीय ह्वीप नलाग्ने कुरा संविधानविपरीत

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दलीय निर्देशन लागू नहुने र यसमा ह्वीप जारी नहुने तर्क संविधानविपरीत रहेको जिकिर गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहीवार सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले संसदीय शासन प्रणालीमा संसद् सदस्य प्रचलित कानून तथा दलको विधानभन्दा बाहिर र स्वतन्त्र नहुने उल्लेख गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन सम्बन्धमा लिखित जवाफ पेश गर्न सरकारलाई आदेश गरेको थियो । 

‘रिट निवेदनमा दाबी गरिएजस्तो संविधानको धारा ७६ को उपधारा (५) को अवस्थामा दलीय ह्वीप नलाग्ने कुरा संविधान र संविधानले स्थापित गरेको संसदीय शासन प्रणालीको आधारभूत मान्यता विपरीत हुन्छ । संसदीय शासन प्रणालीमा संसद् सदस्य प्रचलित कानून तथा दलको विधानभन्दा बाहिर र स्वतन्त्र हुँदैन,’ ओलीले जवाफमा भनेका छन्, ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ ले सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा दलीय निर्देशन (ह्वीप) लाग्ने कुरा स्पष्ट गरिएको छ । दलको निर्देशनविपरीतको कार्य स्पष्टतः दल त्यागको अवस्था हो र दल त्याग गरेको अवस्थामा संविधानको धारा ८९ (ङ) र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम त्यस्तो संसद् सदस्यको पद रहँदैन । पद नै नरहने प्रतिनिधि सभा सदस्यले कसैलाई प्रधानमन्त्री पदमा समर्थन गर्न सक्ने वा त्यस्तो मत गणना हुन सक्ने अवस्था नै रहँदैन । संविधानको धारा ७६ को उपधारा (५) बमोजिमको प्रधानमन्त्री दलीय समर्थनको आधारमा मात्र नियुक्त हुन सक्छ ।’

जेठ ७ मा मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नेकपा एमालेका सांसदको समेत हस्ताक्षर बुझाएका देउवाले ७६ (५) को सरकार बन्दा दलीय ह्वीप नलाग्ने जिकिर गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्