२२ जेठ २०८३, शुक्रबार

तिलोत्तमामा ट्रयाक्टर जोताइको नयाँ भाडादर निर्धारण

असार ३, २०७८
तिलोत्तमामा ट्रयाक्टर जोताइको नयाँ भाडादर निर्धारण
प्रतिकात्मक तस्वीर

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्रयाक्टर जोताईंको नयाँ भाडा दर कायम गरिएको छ ।

यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यको आधारमा समायोजन गरिएको हो ।

नगरपालिकाले ट्रयाक्टर धनीका प्रतिनिधि समेतको उपस्थितिमा सरोकारवालासँग छलफल गरेर नयाँ भाडा दर कायम गरिएको वडा नम्बर १३ का अध्यक्ष समेत रहेका भाडादर निर्धारण समितिका संयोजक गणेश न्यौपानेले जानकारी दिए ।
 
कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए । तिलोत्तमामा सर्वपक्षीय छलफलबाट ट्रयाक्टरको कल्टिभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ४४० र रोटाभेटर जोताई भाडा प्रतिघण्टा १ हजार ८५० कायम गरिएको छ ।

डिजलको मूल्यवृद्धि, बजारको अवस्था लगायतको आधारमा २०७७ वैशाखमा निर्धारण गरिएको भाडादरलाई समायोजन गरिएको वडाध्यक्ष न्यौपानेले बताए ।

अब तिलोत्तमा नगरपालिकामा निर्धारण गरिएभन्दा बढी भाडा लिन पाइने छैन तर ट्रयाक्टर व्यवसायीले तोकिएभन्दा कम भाडा लिन सक्नेछन् ।

तिलोत्तमा नगरपालिकामा ट्रयाक्टरको वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ । तिलोत्तमा नगरपालिकाको झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ ।

प्रमुख खाद्यबाली धान रोपाईं प्रारम्भ हुँदै गर्दा ट्रयाक्टरको नयाँ जोताइ भाडादर कायम गरिएको हो । तोकिएकोभन्दा बढी भाडा कसैले लिए सम्बन्धित निकायमा जानकारी गराउन समिति संयोजक न्यौपानेले किसानलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्