पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान शुरूआत भएको छ ।
अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ ।
गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएका ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायतले गुर्जो बहुउपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिए ।
गुर्जो रोपण कार्यक्रमको समन्वय बागमती सफाइ अभियानकर्मी डा. माला खरेल र पूर्व सहसचिव तथा योगगुरु किशोर जोशीले गरेका थिए ।
आइतवार पनि पशुपति क्षेत्रको वनकालीमा गुर्जो रोप्ने कार्यक्रम रहेको जनाइएको छ । पशुपति क्षेत्रका खाली स्थानमा क्रमशः गुर्जो रोपण गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधी पनि निःशुल्क वितरण गरिएको थियो । अभियानकर्मी राजलवट विक्रम संवत् २०७६ चैतमा कोरोना महामारी फैलिएसँगै गुर्जो रोपण एवं यसबाट बनेका परिकारलाई निःशुल्क वितरण गर्ने अभियानलाई तीव्रता दिँदै आएका छन् ।
गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउँछन् ।
‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेद शास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले सुनाए । उनले गत वर्ष पनि १ लाख ६० हजार गुर्जोका बिरुवा रोप्नका लागि निःशुल्क वितरण गरेका थिए ।
आन्तरिक राजस्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उनले देशव्यापी रूपमा निःशुल्क वितरण अभियान चलाएका थिए । हाल आन्तरिक राजस्व कार्यालय धुलिखेलको प्रमुख भई आएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका छन् ।
गुर्जोलगायत वनस्पतिबाट बनेका चिया, धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांश सेवनकर्ताको अनुभव छ ।