१० साउन २०८३, आइतबार
महाधिवेशनको सरगर्मी

पुनः सभापतिमा लड्ने देउवाको तयारी, निकटस्थसँग परामर्श थाले

पुनः सभापतिमा लड्ने देउवाको तयारी, निकटस्थसँग परामर्श थाले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा सभापतिमा दोहोरिने भन्दै निकटस्थसँग परामर्श थालेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रवार बसेको बैठकले भदौ १६–१९ गतेसम्म चौधौं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका पारित गरेको छ ।

कार्यतालिका पारित भएको भोलिपल्टदेखि देउवाले निकटस्थसँग परामर्श शुरू गरेका छन् । देउवाले शनिवार बिहान १ नम्बर प्रदेशका केन्द्रीय सदस्य तथा दिउँसो २ नम्बर प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेतासँग परामर्श गरेका छन् ।

‘शेरबहादुर दाइले आगामी महाधिवेशनमा सभापतिमा उठ्ने विचार गरेको र माहोल सिर्जना गर्न आग्रह गर्नुभयो, हामीहरूले सकेसम्म सर्वसम्मत गर्नुस् भनेर सुझाव दियौं,’ देउवासँगको भेटमा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

देउवाले आफू अन्तिम पटक सभापतिमा उठ्न लागेको र सभापति बनेपछि पार्टीलाई पुरानै अवस्थामा फर्काएर नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘अन्तिम पटकको लागि सभापतिमा लड्ने हो, पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर चुनावमा बहुमत दिलाउन लाग्छु,’ देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी ती नेताले भने । 

देउवाले आफ्नो उम्मेदवारी कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि भएको दाबी गरेका थिए । 

सहमहामन्त्री सुनील थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. डीला संग्रौला लगायत १ नम्बर प्रदेशका प्रभावशाली नेताहरू बैठकमा सहभागी थिए । 

सहभागीले संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने तयारी गरेकोबारे जिज्ञासा राखेका थिए । यस विषयमा देउवाले खासै खुलेर जवाफ नदिएको सहभागी नेताहरूले बताए । 

‘तपाईंहरूले विगतमा जसरी सहयोग गर्नुभएको छ, अब पनि सहयोग गर्नुस् । कांग्रेसलाई देशको १ नम्बर पार्टी बनाउने योजनासहित समावेशी टीम बनाएर महाधिवेशनमा जाने हो,’ देउवाले भनेका थिए ।

महाधिवेशनलगत्तै तीनै तहको चुनावको तयारी गर्नुपर्ने अवस्था आउने भन्दै पार्टीलाई चुस्त बनाएर लैजाने देउवाले बताएका थिए । २०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए । 

कांग्रेसका तत्कालीन कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतअन्तरले पराजित गर्दै देउवा सभापति बनेका थिए । देउवाको पक्षमा १ हजार ८२२ र पौडेलको पक्षमा १ हजार २९६ मत परेको थियो ।

देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको थपिएको कार्यकाल भदौमा पूरा हुँदैछ । भदौमा कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

शुक्रवार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले वडाको अधिवेशन साउन १२ गते, गाउँ, नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्न प्रस्ताव गरेको छ । 

प्रदेश अधिवेशन भदौ १ र २ तथा केन्द्रीय अधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका पारित भएको थियो । 

महाधिवेनशको कार्यतालिका पारित भएसँगै नेताहरूले आन्तरिक छलफल तीब्र बनाएका छन् । संस्थापन पक्षबाट देउवा र निधिले सभापतिमा उम्मेदवारी दिने बताएका छन् भने देउवाइतर समूहबाट पनि केही नेताले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । 

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्री डा. शशांक कोइरालालाई समेत विश्वासमा लिएर शेखरले उम्मेदवारी दिने तयारी गरेको उनी निटकस्थले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्