०४ असार २०८३, बिहीबार

लगातारको वर्षाले भौतिक संरचनादेखि पशुवस्तमा नोक्सानी

असार ६, २०७८
लगातारको वर्षाले भौतिक संरचनादेखि पशुवस्तमा नोक्सानी

पाँच दिनदेखि लगातार परेको अविरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्षति पुग्दा लाखौँको नोक्सान भएको छ ।

वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्षति पुगेको छ भने १६ वटा घरमा आंशिक क्षति पु¥याएको जानकारी आएको छ ।

वर्षाले खार्पुनाथ गाउँपालिका–१ घण्टवीर बुढाको तीनतले पाँचकोठे घर र खार्पुनाथ–१ देउखुरी गाउँका लोकेश जैशीको माथिबाट आएको पहिराले घरमा पूर्ण क्षति गरेको छ । पहिरोले मानवीय क्षति भने नभएको बताइएको छ ।

त्यस्तै सिमकोट गाउँपालिका–२ ठेहेगाउँका वीरजीत सुनारको एकतले जस्ताले छाएको तीनकोठे घर र वडा नं ३ वरगाउँका याङसु लामाको तीनतले छकोठे कच्ची घरमा पूर्ण क्षति भएको बताइएको छ ।

यस्तै वर्षाले सर्केगाड गाउँपालिका–७ रोडिकोड गाउँका कलम सार्कीको तीनतले सातकोठे घरमा पूर्ण क्षति गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । जिल्लाभर २१ वटा घरमा आंशिकदेखि पूर्ण क्षतिको खबर आएको भए पनि कति क्षति गरेको भन्ने जानकारी नआएको उनले बताए ।

जिल्लाको खार्पुनाथ, सिमकोट र सर्केगाड गाउँपालिकामा लगातारको वर्षाले बढी क्षति पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यस्तै हिल्दुम जाने बाटोमा रहेको सिमकोट तल्लो गाउँमा कुला रावतसहित गरी चार जनाको घरमा जोखिम पुगेको छ । घर नजिकै बाटो भएकाले बाटो मुनिबाट माटो खनिएकाले घरमा जोखिम बढेको बताइएको छ ।

यसैगरी खार्पुनाथ गाउँपालिका–५ दुर्पाको मारघोरमा जाने बाटो वर्षाले पूर्ण भत्काएको जानकारी प्राप्त भएको छ । बाटो भत्किँदा आवतजावतमा समेत समस्या बनाएको दुर्पाका स्थानीयवासी देवी सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्