एक नयाँ अध्ययनले नास्तिकहरू कट्टर धार्मिक मानिसहरू जस्तै खुशी हुने देखाएको छ ।
धर्मावलम्बीहरू नास्तिकभन्दा बढी खुशी र जीवनसँग सन्तुष्ट हुन्छन् भन्ने अहिलेसम्मको धारणा थियो ।
तर अनुसन्धाताहरूका अनुसार, धर्ममा सामान्य आस्था भएका व्यक्तिको तुलनामा कि त ईश्वरमा कट्टर आस्था कि त कट्टर नास्तिकता भएका व्यक्ति बढी सन्तुष्ट हुने पाइएको छ ।
कुल २४ वटा देशमा गरिएका खुशियाली सर्वेक्षणमा सहभागीहरूलाई धार्मिक विश्वास तथा जीवनमा सन्तुष्टिको स्तरका विषयमा प्रश्न गरिएको थियो ।
कोलोन विश्वविद्यालयबाट प्रकाशित हुने जर्नल अफ ह्याप्पिनेस स्टडीजमा आबद्ध प्राज्ञिकहरूले नास्तिक र आस्तिक दुवैले जीवनमा उत्तिकै सन्तुष्टि हासिल गर्ने बताए ।
खुशीका लागि क्रिस्चियन धर्मको महत्त्व अतिशयोक्ति भएको उनीहरूको भनाइ छ । अमेरिकाको कथित बाइबल बेल्टमा बस्ने मानिसहरूमा अध्ययन गर्दा पनि यो कुरा थाहा लाग्ने उनीहरू बताउँछन् ।
यसअघि गरिएका अध्ययनभन्दा यो फरक निष्कर्ष हो ।
सन् २०१९ मा वाशिङटनमा रहेको प्यु रिसर्च सेन्टरले अधार्मिक व्यक्तिभन्दा धार्मिक व्यक्तिहरू बढी खुशी भएको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । कुल ३६ देशमा गरिएको सर्वेक्षणमा यो तथ्य पाइएको हो ।