भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र मानिने अरविन्द कुमार (एके) शर्मालाई शनिवार उत्तर प्रदेश भारतीय जनता पार्टीको उपाध्यक्ष बनाइएको छ ।
आईएएसको जागिर छोडेर एके शर्माले राजनीतिमा कदम राख्दा उनलाई उपमुख्यमन्त्रीदेखि केन्द्र सरकारको मन्त्री बनाइनेसम्मको हल्ला चलेको थियो ।
तर पार्टीमा उनलाई राखेर तत्कालका लागि योगी आदित्यनाथ सरकारमा उनको कुनै भूमिका नरहने देखिएको छ ।
यसलाई योगीको जीतका रूपमा हेर्ने हो कि केन्द्रीय नेतृत्वले अहिलेका लागि बीचको राजनीतिक बाटो निकालेको हो भनी हेर्ने हो ?
आफूलाई मोदीले नै राजनीतिमा ल्याएको भन्दै एके शर्माले प्रशंसा गरेका थिए । मोदीले शर्मालाई उत्तर प्रदेश सरकारमा ठूलै जिम्मेवारी दिलाउन खोजेका थिए तर योगी आदित्यनाथले मानेनन् ।
त्यसैले गर्दा पाँच महिनासम्म एके शर्मालाई मन्त्रिमण्डलमा स्थान दिइएन र अन्य महत्त्वपूर्ण जिम्मेवारी समेत सुम्पिइएन । लखनउमा उनलाई आवास समेत दिइएन ।
अहिले उत्तर प्रदेशमा भाजपासँग योगीको कुनै राजनीतिक विकल्प छैन । विगत चर वर्षमा योगीको छवि मजबूत भएको छ र उनका राजनीतिक प्रतिद्वन्द्वीहरू निकै पछि परेका छन् ।
मोदी र गृहमन्त्री अमित शाहपछि सबभन्दा प्रभावशाली नेता योगी आदित्यनाथ नै मानिएका छन् । राष्ट्रिय स्वयंसेवक संघले पनि मन पराएका नेता हुन् उनी ।
योगीको आक्रामकताले नै भाजपालाई अर्को चुनाव पनि जिताउने आकलन पार्टीले गरेको छ ।
त्यसैले तत्कालका लागि एके शर्मालाई सरकारको साटो संगठनमा समायोजन गर्न खोजिएको देखिन्छ ।