
कोरोना महामारीका कारण जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । असार ८ गतेदेखि लागू हुने गरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार सम्पन्न बैठकले गरेको निर्णयअनुसार काठमाडौंमा औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ । यस्तै खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसलहरु, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर(ग्रोसरी मात्र)पुस्तक पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
यस्तै ग्रोसरी बाहेकका डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, आइटम, टेलरिङ, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिनेछ ।
यसैगरी सुन पसल, भाँडा, भान्साजन्य विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।
यसैगरी निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ । ठूलो परिमाणको ढुवानी राति मात्र सञ्चलन गर्ने प्रशासनको निर्णय छ ।
पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, अनिवार्यरुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रशासनको निर्णय छ ।
यसैगरी वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले निर्णय गरेको छ ।