
बुटवल टेक्निकल इन्ष्टिट्यूट (बीटीआई) को स्तरोन्नति गर्दै इन्जिनियरिङका विभिन्न विषयमा उच्च तहका कक्षा समेत सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको तयारी बुटवल उपमहानगरपालिका रुपन्देहीले गरेको हो ।
२०२० सालमा स्थापना भएको बीटीआई उपमहानगर मातहत रहेको र प्राविधिक विषयमा व्यवहारिक विषय बढाउने यसक्षेत्रकै पुरानो तथा प्रतिष्ठित संस्था हो । यसलाई स्तरोन्नति गरि इन्जिनियरिङ विषयका विभिन्न तहका कक्षा सञ्चालन गर्न उपमहानगरले चासो बढाएको छ ।
प्राविधिक तथा सीपमूलक शिक्षालाई नीति तथा कार्यक्रममै समावेश गरेर प्राथमिकतामा राखेको बुटवलले बीटीआईमा नै प्राविधिक शिक्षाको क्याम्पस सञ्चालन गर्ने आवश्यक प्रक्रिया सुरु गरेको हो ।
बुटवललाई शैक्षिक क्षेत्रको हवको रुपमा विकास गर्ने तथा बुटवलमा इन्जिनियरिङ कलेज स्थापना गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यक्रमलाई व्यवहारिक बनाउन खोजिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उनले बुटवल टेक्निकल इन्स्टिच्यूटको पूनर्संरचना गर्दै संघ, प्रदेश तथा विकास साझेदारहरुको सहकार्यमा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताए । बीटीआइमा अहिले दुई वर्षे ओभरसियर र चार वर्षे सवओभरसियरको पढाई हुँदै आएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयसंग परामर्श
प्राविधिक विषयमा उच्च तहको पठन पाठनका लागि उपमहानगरले विश्वविद्यालयसंग सम्बन्धन लिने तयारी गरेको छ । लुम्बिनीमै केन्द्रीय कार्यालय रहेको उक्त विश्वविद्यालयले इन्जिनियरिङ विषयका लागि सम्बन्धन दिनसक्ने व्यवस्था छ । यद्यपि सम्बन्धन दिने विषयमा तत्काल निर्णय भने नहुने विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले बताए ।
बुटवल उपमहानगरसंग सहकार्य हुनेछ : रजिष्ट्रार
विश्वविद्यालयका रजिष्ट्रार डा.तिलक आचार्यले बुटवल उपमहानगरले समयसापेक्ष र महत्वपूर्ण प्रस्ताव ल्याएको भन्दै विश्वविद्यालयमा सम्बन्धित अधिकारीहरुसंग छलफल गरिने बताए । उनले तत्काल सम्बन्धनको विषय भन्दा पनि तत्कालै सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने र छिट्टै काम अगाडि बढाइने जानकारी दिए ।
बीटीआई मार्फत कैयौं उद्योग र प्राविधिक जनशक्तिको उत्पादन
अप्रेन्टेसेसिप तालिमको माध्यमबाट दक्ष जनशक्ति तयार पार्ने तथा नेपालको आद्योगिक र आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले बीटीआईले प्राविधिक विषयमा आधारभूत कक्षा सञ्चालन गर्दै आएको छ ।
संघीय मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा कम्पनी एैन ०६३ का अनुसार नाफा वितरण नगर्ने कम्पनीको रुपमा बुटवल उपमहानगरपालिका, संघीय अर्थमन्त्रालय तथा उद्योग मन्त्रालय समेतको प्रतिनिधित्वमा बीटीआईलाई थप व्यवस्थित बनाउने काम सुरु भएको छ ।
बीटीआईले हालसम्म नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, बुटवल प्लाईउड फेक्ट्री, बुटवल उड इण्डष्ट्रिज, गोवर ग्याँस कम्पनी, बुटवल इन्जिनियरिङ वक्र्स, डीसीएस, हिमाल हाइड्रो, बुटवल पावर कम्पनी जस्ता उद्योगहरुको स्थापनामा सहभागी भएको छ ।