इरानको एक मात्र आणविक बिजुली संयन्त्र रहस्यमय तरिकाले आकस्मिक रूपमा बन्द भएको छ ।
चार दिनसम्म यो संयन्त्र बन्द रहने बताइएको छ ।
आणविक भट्टी बन्द भएपछि अँध्यारो छाएको छ ।
एक मात्र आणविक संयन्त्र बन्द भएपछि विभिन्न किसिमका अनुमान गर्न थालिएका छन् । शंकाको सुई इजरायलको गुप्तचर निकाय मोसादतर्फ सोझिएको छ ।
तवानिर राज्य विद्युत् ऊर्जा कम्पनीका अधिकारी घोलामाली राखशानिमेहरले बुशहरस्थित इकाइ शनिवार बन्द गरिएको थियो । पहिलोपटक यसरी इकाइलाई आकस्मिक रूपमा बन्द गरिएको हो । बुशहरमा रहेको यस इकाइलाई सन् २०११ मा रुसको सहायतामा शुरू गरिएको थियो ।
आणविक अधिकारी महमूद जाफरीले यस इकाइलाई बन्द गर्नुपर्ने हुन सक्ने किनकि अमेरिकी प्रतिबन्धका कारण आवश्यक पाटपुर्जा र उपकरण किन्न इरान असमर्थ रहेको बताएको थियो । इरानले यस रियाक्टरमा उपयोग गरेको ऊर्जा रडलाई पुनः रुस पठाउनुपर्ने हुन सक्छ । उसले यसको गलत उपयोग गरेर आणविक बम नबनाओस् भनी त्यसको सुनिश्चितता खोजिएको हो ।
यस आणविक भट्टीका लागि युरेनियम रुसबाट आउँछ । त्यसमा संयुक्त राष्ट्रसंघको निगरानी रहन्छ ।
बुशहर आणविक भट्टी बन्द भएपछि अनुमानको बजार तातेको छ । सामाजिक सञ्जालमा मानिसहरूले यसका पछाडि इजरायलको गुप्तचर संस्था मोसादको हात भएको हुन सक्ने बताएका छन् ।
इजरायलले इरानको आणविक कार्यक्रमको लगातार विरोध गर्दै आएको छ । नयाँ प्रधानमन्त्री नफ्टाली बेनेटले पनि इरानको आणविक कार्यक्रमका विषयमा संसारलाई चेतावनी दिएका छन् ।