
स्विडेनका प्रधानमन्त्री स्टेफान लोफवेनले सोमवार संसदमा विश्वासको मत गुमाएका छन् ।
उक्त देशको इतिहासमा यसरी विश्वासको मत गुमाउने उनी पहिलो प्रधानमन्त्री हुन् ।
त्यहाँ घरजग्गाको भाउ आकासिएर जनता अप्ठ्यारोमा परेपछि आक्रोशको स्थिति छ ।
सानो वामपन्थी दलले प्रधानमन्त्रीलाई विश्वासको मत लिनका लागि प्रस्ताव गराएको थियो ।
स्विडेनका ठूला शहरमा भाडा ठिक्क राख्नका लागि कडा नियमहरू लगाइएको हुन्छ । तर यसले गर्दा घरजग्गा व्यवसायीहरू नयाँ नयाँ घर बनाउन चाहँदैनन् ।
घर भाडामा लिनका लागि मानिसहरूले वर्षौं कुर्नुपर्ने हुन्छ र अहिले घरको दाम बढेकाले किन्न नै पनि धौधौ परिरहेको छ ।
यस्तोमा सरकारले भाडामा नियन्त्रण गर्ने नियमलाई खुकुलो बनाउन खोजेको छ । तर वामपन्थी दलले त्यसो गरिएमा भाडा ह्वात्तै बढ्नै अनि धनी र गरीबको बीचमा खाडल झनै गहिरिने तर्क गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत गुमाएपछि अब के हुन्छ भन्ने स्पष्ट छैन ।
उनले एक हप्ताभित्र निर्वाचनको आह्वान गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिनुपर्नेछ ।
आइतवार लोफवेनले घरभाडा नियममा सुधारको प्रस्तावमा बहुमतका लागि बैठक गरेका थिए ।
तर वामपन्थी दलकी नूशी दाद्गोस्तारले लोफवेनको प्रस्तावको विपक्षमा रहने अड्डी कसिन् ।