
भारतको पश्चिम बंगाल राज्यमा पश्चिमपट्टिको भागमा रहेको जंगलमहललाई छुट्टै राज्य बनाउनका लागि भारतीय जनता पार्टी लागिपरेको छ ।
पुरुलिया, बाँकुरा र झारग्राम जिल्लामा पर्ने वनक्षेत्र जंगलमहललाई राज्य बनाउनुपर्ने माग अन्य जिल्लाले पनि गरेको भाजपाका सांसद सौमित्र खानले बताएका छन् ।
पश्चिम बंगालमै दार्जीलिङ वरिपरिको क्षेत्रलाई समेटेर गोर्खाल्यान्ड राज्य बनाउन लामो समयदेखि माग उठिरहेकोमा अहिले जंगलमहल क्षेत्रलाई राज्यको दर्जा दिलाउन माग गरिएको छ ।
बंगालको सत्तारूढ दल तृणमूल कांग्रेसले हालै सम्पन्न विधानसभा निर्वाचनमा भाजपा हारेपछि बखेडा झिक्न थालेको आरोप लगाएको छ ।
उक्त दलका प्रवक्ता कुनाल घोषले यो भाजपाको गैरजिम्मेवार खेल भएको बताए ।
गत जुन १५ मा भाजपाका सांसदहरूले दलको बैठकमा उत्तरी बंगालका विभिन्न जिल्लालाई समेटेर एक केन्द्रशासित प्रदेश बनाउने माग राखेका थिए ।
त्यसमा कडा प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री ममता बनर्जीले बंगालको कुनै भागले स्वतन्त्रता गुमाउने र नयाँ दिल्लीमा निर्भर रहने स्थिति आफूले आउन नदिने बताएकी थिइन् ।