१६ असार २०८३, मंगलबार

नेपाली बहादुरीको सजिव चित्र ‘कथा नालापानीको’

कात्तिक २०, २०७४
नेपाली बहादुरीको सजिव चित्र ‘कथा नालापानीको’

काठमाडौं, २२ जेठ– सन् १८१६ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्व नालापानीमा युद्व लड्यो । संसारभरी नै आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले सन् १८१६ को पूर्वाद्धताका नेपाली भूभागमा आफ्नो आधिपत्य कायम गर्न अघि बढेको थियो ।

सोही क्रममा तत्कालिन समयमा नेपालको भूभागमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो । कमजोर सैन्य शक्ति, प्रविधि इत्यादिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न त सकेन तर, त्यसका बावजुद पनि नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालिन सत्रुपक्ष र विश्व सैन्य इतिहासमै हालसम्म पनि उच्च प्रशंसित छ ।

नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर सञ्चारकर्मी हरिशरण लामिछानेले वृत्तचित्र निर्माण गरेका छन् । तत्कालिन समयमा सैन्य शक्ति, व्यापारीक र आर्थिक हिसावले संसारकै बलिष्ट मानिएको ब्रिटिस साम्राज्यको अगाडि ती सबै हिसावमा तुलनात्मक रुपमा निकै कमजोर नेपाली सेनाले कसरी बहादुरीपूर्वक युद्ध लडे त्यसको तथ्य बृत्तचित्रमा समेटिएको छ ।

तत्कालिन समयमा नेपाली सेनाले प्रस्तुत गरेका बहादुरीका अनेकौं इतिहास, नेपालले अपनाएको सैन्य रणनीति लगायतका ऐतिहासिक तथ्य वृत्तचित्रमा समेटिएका छन् । ऐतिहासिक दस्तावेज इतिहासविद् तथा संस्कृतिविद् प्रा. दिनेशराज पन्त, सैन्य इतिहासविद् तथा नेपाल सैनिक प्रतिष्ठानका पूर्वडिन प्रा. कमलराजसिंह राठौर, इतिहासकार तथा संस्कृतिविद् प्रा.डा. त्रिरत्न मानन्धर, डा. रणध्वज लिम्बू लगायतले वृत्तचित्रलाई खदिलो बनाएको छ ।

नेपालले नालापानीको युद्ध लडेको २ सय वर्ष पूरा भएको सन्दर्भमा सन् २०१५ मा वृत्तचित्र तयार गरिएको लामिछानेले बताए । नेपाल फाउण्डेसन फर एडभान्स स्टडिज (निफाज)समेतको सहकार्यमा वृत्तचित्र तयार गरिएको उनले बताए ।

‘वृत्तचित्रलाई अब अभियानकै रुपमा अघि बढाउने योजना बनाएका छौं,’ लामिछानेले लोकान्तरसँग भने । अहिलेका पुस्ताले पनि आफ्नो देशको गौरवपूर्ण इतिहासको बारेमा यथार्थ जानकारी राख्नु जरुरी रहेको र वृत्तचित्रले यसलाई राम्रोसँग सम्बोधन गरेको निर्माण टिमको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्