०१ असार २०८३, सोमबार

नेपालमा कोरोनाको नयाँ ‘म्युटेसन’ फेला

असार ८, २०७८
नेपालमा कोरोनाको नयाँ ‘म्युटेसन’ फेला

नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार ४८ वटा नमुना परीक्षण गर्दा ४७ वटामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) पुष्टि भएको हो । यस्तै एक नमुनामा अल्फा भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको छ । डेल्टा भेरिएन्ट पुष्टि भएकामध्ये नौवटामा म्युटेसन देखिएको जानकारी उनले दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट वैशाख २६ देखि जेठ २० सम्म सङ्कलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य सङ्गठनको मान्यताप्राप्त भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा भएको जिन सिक्वेन्सिङमा उक्त भेरिएन्ट पत्ता लागेको हो ।

डेल्टा भेरिएन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ भने अल्फा भेरिएन्ट १६४ देशमा देखिएको छ । ४७ जनामध्ये नौवटा नमुनामा के ४१७ एन भन्ने परिवर्तित रूप देखिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले बेलायतमा पहिलो पटक भेटिएको कोरोना भाइरसको भेरिएन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरिएन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरिएन्टलाई गामा र भारतमा भेटिएको भेरिएन्टलाई डेल्टा नामकरण गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेठ २० सम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालय तथा दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा पठाइएकोमा डेल्टा नामक भेरिएन्ट पुष्टि भएको जानकारी दिएका छन्।

सतर्कता अपनाउनुपर्छ : डा. पाण्डे
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले नेपालमा देखिएको डेल्टा भेरिएन्ट अन्य भेरिएन्टभन्दा तीव्र रूपमा फैलिने बताए । उनले नयाँ भेरिएन्टबारे विश्व स्वास्थ्य सङ्गठनले थप अध्ययन गर्ने भन्दै यो तीव्र रूपमा फैलिने भएकाले सतर्क रहनुपर्ने बताए ।

युरोप तथा अमेरिकातिर आजको आजै भाइरसबारे अध्ययन हुने भन्दै उनले नेपालमा भने एक महिनाअघिको भेरिएन्टबारे अहिले चर्चा भएको बताए । उनले नेपालमा भाइरस अघिअघि छ भन्दै सरकार यो भेरिएन्ट र त्यो भेरिएन्ट भन्दै पन्छिने गरेको बताए ।

नयाँ भेरिएन्टबाट जोगिन पहिलेजस्तै सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने, हात साबुनपानीले नियमित धुनुपर्ने डा. पाण्डेले बताए । नेपालमा रेस्टुराँहरू खुल्न थालिसकेका भन्दै उनले पसल खोल्नु, खुला रूपमा हिँड्नु कोरोनाको दृष्टिकोणबाट घातक हुने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्