
काठमाडौं, २२ जेठ — साउदी अरब लगायत मध्यपूर्व र उत्तरी अफ्रिकाका सात देशले सोमवार कतारसँग सम्बन्ध तोड्नुका कारणहरूको विश्लेषण भइरहेको छ ।

त्यसो त अमेरिकी सेनाको केन्द्रीय कमान्डको हेडक्वार्टर नै कतारमा छ । तर उसका अरब छिमेकीहरूले उसलाई मुस्लिम ब्रदरहूडको समर्थन गरेको भन्दै आलोचना गर्दै आएका थिए ।
पश्चिमी अधिकारीहरूले पनि कतारलाई सिरियास्थित तक्फिरी अतिवादीहरूलाई लगानी गरेको आरोप लगाउँदै आएका छन् । तर साउदी अरब र युएईका विरुद्ध पनि अन्य तक्फिरी समूहलाई लगानी गरेको आरोप छ । यो झगडाले ती राष्ट्रहरूका बीच प्रभावको लडाईंलाई उजागर गरेको छ ।
यमनका पूर्वराष्ट्रपति अली अब्दुल्लाह सलेहले साउदी अरब र कतारबीचको द्वन्द्व दुई देशका विगतदेखिको भिन्नतामा आधारित रहेको बताएका थिए । यी दुवै मुलुकले अतिवादी वहाबी विचारधारा अपनाए पनि उनीहरूका बीच भिन्नता छ ।
वहाबीवाद साउदी अरबमा पढाइन्छ र यसले इस्लामिक स्टेट र अलकायदा जस्ता आतंकवादी समूहलाई प्रेरित गर्छ ।
प्यालेस्टाइनका प्रभावशाली पत्रकार अब्देल बरी अत्वानले ट्विटरमा लेखेअनुसार कूटनीतिक सम्बन्धविच्छेद कतारविरुद्ध सैन्य कारवाहीको भूमिका तथा पूर्वकदम हो ।
‘अब अर्को कदम भनेको कतारमा सैन्य कारवाही चलाएर सत्तापरिवर्तन गर्नु हो । यो महिनौंअघिदेखि योजना बुनिएको युद्ध हो,’ राइ अल–यूम न्युज वेबसाइटका प्रधानसम्पादक अत्वानले भने ।
खासमा यो संकट अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो महिना साउदी अरबको भ्रमण गर्दा एक खर्ब १० अर्ब डलरको हतियार सम्झौता गरेपछि चर्केको हो ।
अमेरिकाका विदेश मन्त्रालय रेक्स टिलरसनले ट्रम्पको भ्रमण इजरायलसँग एकताबद्ध हुने अनि इरानविरुद्ध लाग्ने काममा साउदी अरब र अन्य अरब मुलुकलाई सहमत गराउने उद्देश्यका साथ गरिएको थियो । त्यतिखेर कतारको भूमिकाको ट्रम्पले आलोचना गरेका थिए ।
ट्रम्पको भ्रमणपछि साउदी र कतारबीचको तनाव बढेको थियो । कतारको सरकारी समाचार संस्थामा कतारी अमिरले अमेरिका, साउदी अरब र उनीहरूका पिछलग्गु मुलुकले इस्लामिक शक्ति इरानसँग तनाव बढाउन खोजेको भन्दै आलोचना गरेको भनी उद्धरण गरिएको थियो ।
कतारी सरकारले यस्ता टिप्पणीलाई तत्कालै हटायो र समाचार संस्था ह्याक भएको बतायो । तर कतारी सरकारले यसो भनेपनि खाडीका अरब मुलुकहरूका बीचको खाडल झनै गहिरियो ।
साउदी सञ्चारमाध्यमले कतारमाथि भीषण शाब्दिक आक्रमण गरेर उसले अन्य अरब मुलुकलाई धोका दिएको आरोप लगाए । इरानका विरुद्ध एकताबद्ध हुनुपर्नेमा कतार इरानको प्रशंसा गर्नतर्फ लागेको आरोप लगाइएको थियो ।
साउदी अरब र युएईले कतारका वेबसाइटहरूलाई पनि प्रतिबन्ध लगाएका छन् ।
एजेन्सी