काठमाडौं, ११ पुस– आफू उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको छोरा भएको भन्दै ठग्दै हिँड्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक राम्चे घर भई भक्तपुर कमलबिनायक बस्ने रोशन सुवेदीलाई पक्राउ गरेको हो ।
उनले आफू उपराष्ट्रपतिको पिएका साथै छोरा हुँ भनि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूमा कार्यक्रम गर्नका लागि भन्दै रकम माग्दै आएका थिए ।
प्रहरीका अनुसार उनले विभिन्न पत्रपत्रिकाबाट संघ संस्था तथा कार्यालयको नाम संकलन गर्ने गर्ने र फोन गरेर पैसा माग्ने गरेका थिए । यस्तै नेपाल टेलिकमको १९७ मा पनि फोन गरी सम्बन्धित कार्यालयको फोन नं संकलन गरी नेकपा माओवादीको कार्यक्रमको लागि १०–१५ हजार रुपैयाँ सहयोग गर्नु भनि फोन गर्ने गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
अन्तिम पटक उनले न्यूरोड स्थित ल्याण्डलाईन बाट हुलाक सेवा विभाग, डिल्लिबजारमा फोन गरी १० हजार रुपैयाँ माग गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
विगतमा उनले राजश्व अनुसन्धान विभाग , औषधी व्यवस्था विभाग, नेपाल कृर्षि अनुसन्धान परिषद, नापी विभाग ,केन्द्रिय पञ्जिकरण विभाग , परराष्ट्र मन्त्रालयलगायतका सरकारी कार्यालयबाट पैसा लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।