काठमाडौँ, २३ जेठ- मुलुकका करिब ९८ प्रतिशत वयष्कको बैंक खाता रहेको सरकारी तथ्यांकले देखाएको छ । अझै पनि अधिकांश ग्रामीण भेगमा वित्तीय पहुँच (बैंकिङ सेवा) पुर्याउन नसकेको आरोप लागिरहेको समयमा सरकारको यस्तो तथ्यांक बाहिर आएको हो ।
गत आइतबार सार्वजनिक आर्थिक वर्ष ०७३/७४ को आर्थिक सर्वेक्षणमा प्रति एक हजार वयष्क जनसंख्यामा ९ सय ८३ जनाको बैंक खाता रहेको उल्लेख छ ।
यो करिब ९८.३ प्रतिशत हुन आउँछ । यसको अर्थ वयष्क जनसंख्याको ९८ प्रतिशतकै बैंक खाता छ भन्ने नभएको सरकारी अधिकारीहरू बताउँछन् । हाल एकै व्यक्तिले एकभन्दा बढी खाता खोल्न सक्छन् र खोलेका पनि छन् ।
यसकारण बैंक खाताको संख्या बढी भएको अर्थ मन्त्रालयको भनाइ छ । यसरी खुलेका बैंक खातालाई वयष्कको संख्यासँग अनुपात निकाल्दा करिब ९८ प्रतिशतको बैंक खाता रहेको देखिने खबर कान्तिपुरमा छापिएको छ ।