काठमाडौं, २३ जेठ– कुनै पनि चलचित्र उत्कृष्ट बन्नका लागि चलचित्रको छायांकन पक्ष मात्र मुख्य कुरा होइन । तर चलचित्रलाई आकर्षक बनाउनका लागि छायांकारको पनि महत्वपूर्ण भूमिका हुन्छ किनकि चलचित्र श्रव्यदृश्य विधा हो ।
वान शटमा खिचिएको चलचित्र ‘जालो’ नेपाली फिल्म उद्योगमा एक पृथक् प्रयास हो । जुन नेपाली सिनेनगरीमा मात्र होइन, पूरै विश्व बजारमा आफ्नो पहिचान खोज्ने एक दाबेदार सिनेमा हो । नेपाली सिनेमाको सानो बजारमा चलचित्र ‘जालो’ ले आफूलाई फरक रूपमा प्रस्तुत गरेको छ ।
चलचित्रको कथा अब्बल छ । सस्पेन्स थ्रिलर विधाको सिनेमा आकर्षक बन्न पुगेको छ । एकै शटमा खिच्दाका केही प्राविधिक त्रुटिलाई ख्याल नगर्ने हो भने चलचित्र हेर्न रमाइलो लाग्छ । सिनेमा हेरुन्जेल दर्शकलाई कथाले कुनै एउटा घरको समस्यामा अल्झाइरहन्छ, त्यो पनि बडो रोचक ढंगले ।
नेपालका एक धनी व्यापारी भूपेन्द्र (नीर शाह) को मोबाइलमा एकदिन फोन आउँछ । त्यही फोनको कारण उनको पारिवारिक विचलनहरू उजागर हुँदै जान्छन् । उक्त फोनले भूपेन्द्रलाई यति धेरै समस्या ल्याइदिन्छ कि उनी फोन गर्नेलाई पाँचसय करोड दिनका लागि तयार हुन्छन् । मोटामोटी कथावस्तु यही हो । अरू कथा बताउन थाल्दा सस्पेन्स खुस्कने डर छ ।
चलचित्र शुरुवातमा केही अल्छीलाग्दो भएपनि चरित्र विकाससँगै रोमाञ्चक बन्दै जान्छ । एउटा घटनामा अल्झेको सिनेमा पनि कथानककै माध्यमबाट अगाडि बढिरहँदा दर्शकलाई रमाइलो लागिरहन्छ । ‘अब के होला ?’को जिज्ञासाले दर्शकलाई कुत्कुत्याइरहन्छ । सिनेमाको सबल पक्ष भन्नु नै यही हो ।
छायांकार हरि घले लामा बधाईका पात्र हुन् । उनले उक्त चलचित्रको छायांकनलाई सक्दो न्याय गरेका छन् । अगाडिका केही दृश्यमा क्यामेरा हल्लिएपनि पछि भने क्यामेरा हल्लिएको पनि दर्शकले मेसो पाउँदैनन् । लोकेसनलाई गज्जब पाराले उतारिएको छ क्यामेरामा । उनको क्यामेराले सिंगल शटमा घरमात्र भेट्दैन । घरवरिपरिको अन्य स्थानमा पनि खिच्न भ्याएको हुन्छ । समग्रमा उनको काम तारिफयोग्य छ ।
निर्देशक अराज केशबले वान शटको फिल्मलाई झुर बन्न दिएका छैनन् । उनले कथानकलाई ग्रिपिङ बनाएका छन् । सस्पेन्सलाई कथाको अन्तसम्म बलियो गरी बाँधेर राखेका छन् । एकै शटको फिल्ममा उनले गीतसमेत राख्न भ्याएका छन् । क्यामेरासँगै सलल बगिरहेको कथालाई फ्ल्यासब्याकमा पुर्याएर आकर्षक बनाएका छन् । जम्बो टोलीलाई सिनेमामा कुशलताका साथ अभिनय गराएका छन् । उनको यो काम प्रशंसनीय छ ।
सिंगल शटमै खिचिएको भनेपछि यसमा केही प्राविधिक त्रुटि हुनु स्वाभाविक हो । बेलाबेलामा क्यामेराको फ्रेम हल्लिँदा दर्शकलाई नमज्जा लाग्छ । धेरै दृश्यहरू एकैठाउँमा दोहोरिएका छन् । यति हुँदाहुँदै पनि सिनेमाको छायांकन पक्ष राम्रो छ । फिल्ममा लाइटिङ इफेक्ट चाहिँ गतिलो छैन ।
प्रायः कलाकारको अभिनय एकनासको छ । मेनुका प्रधानले कथानकमा ट्विस्ट ल्याए पनि कथा चाहिँ नीर शाहको वरिपरि घुमेको छ । कसैको पनि अभिनयमा त्यति धेरै तारिफ गर्ने स्थिति देखिँदैन । तुलनात्मक रूपमा मुना गौचनको अभिनय अलिक खँदिलो छ । अरू कलाकारको अभिनय मध्यम नै छ ।
अर्को समस्या भनेको चलचित्रमा धेरैभन्दा धेरै संवादको प्रयोग गरिएको छ । फिल्ममा मेनुकालाई बाहेक अरू कलाकारलाई सिम्बोलिक पात्रका रूपमा देख्न सकिँदैन । संवादकै भरमा कथानकलाई अगाडि बढाउनुपर्छ भन्ने परम्परागत सिनेमाको ह्याङबाट चलचित्र माथि उठ्न सकेको छैन । केही पात्रहरू विनाकारण फिल्ममा ल्याइएका लाग्छन् ।
चलचित्र ‘जालो’ को कथानकलाई स्थूल बनाएर परम्परागतभन्दा अझै पृथक् बनाउन सकिने ठाउँ धेरै नै भए पनि वान शटमा खिचेको यो सिनेमाले निराश बनाउँदैन । नेपालमा एकनासका सिनेमा बनिरहेको अवस्थामा चलचित्र ‘जालो’ हेर्नुपर्ने कारण यसको छायांकन मात्र होइन, धेरै तत्त्वले चलचित्रलाई आकर्षक बनाएको छ ।
नेपाली चलचित्र हेर्ने दर्शकका लागि यो सिनेमा राम्रो गिफ्ट हुनसक्छ । तर धेरै नै आशा गरेर हल नछिर्नुहोला ।
चलचित्र: जालो
विधा: सस्पेन्स
निर्देशक: अराज केशव
कलाकार: नीर शाह, मेनुका प्रधान, मुना गौचन आदि
रेटिङ: ३ स्टार