२३ असार २०८३, मंगलबार

बेल्जियम र पोर्चुगलबीचको खेल आज : कसले मार्ला बाजी ?

असार १३, २०७८
बेल्जियम र पोर्चुगलबीचको खेल आज : कसले मार्ला बाजी ?

युरोकपको राउन्ड अफ १६ मा आइतवार निकै महत्त्वपूर्ण प्रतिस्पर्धा हुन गइरहेको छ । 

स्पेनको सेभिलमा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । बेल्जियमले यस प्रतियोगितामा अहिलेसम्म सबै खेल जितिसकेको छ भने पोर्चुगल साबिक विजेता हो । 

बेल्जियमले ग्रुप चरणमा सबै खेल जितेर उच्च उत्साह कायम राखेको भए पनि पोर्चुगल अप्ठ्यारो प्रतिद्वन्द्वी हो । त्यसो त पोर्चुगल ग्रुप चरणमा कमजोर प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेर पनि भाग्यले साथ दिएपछि राउन्ड अफ १६ मा आइपुगेको हो । 

सन् २०१८ को विश्वकपमा तेस्रो भएको बेल्जियम युरोकपमा लामो समयदेखि क्वार्टरफाइनलबाट माथि जान सकेको छैन । अर्थात्, प्रतियोगिताको नकआउट चरणमा बेल्जियम धर्मराउने गरेको छ । 
 

पोर्चुगलले नकआउट चरणमा राम्रै प्रदर्शन गर्ने गरेको भए पनि यसपालि उसलाई गाह्रो स्थिति छ । बेल्जियमलाई हराएछ भने पनि पोर्चुगलले क्वार्टरफाइनलमा इटलीको सामना गर्नुपर्ने हुन्छ । त्यसभन्दा पनि माथि गएछ भने फ्रान्स र स्पेन उसका प्रतिद्वन्द्वी हुन सक्छन् । 

बेल्जियमका लागि महत्त्वपूर्ण खेलाडीहरू केभिन डीब्रुइना, इडन हजार्ड र रोमेलु लुकाकु उपलब्ध रहनेछन् । 

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो सुपरस्टार खेलाडी हुन् र उनको प्रदर्शनले पनि धेरै कुरा निर्धारण गर्नेछ । नेल्सन सेमेदोले नखेल्ने सम्भावना छ ।

यो खेल कसले जित्ला भन्न गाह्रो छ तर धेरै विश्लेषकहरूले बेल्जियमको सम्भावना दह्रो रहेको बताएका छन् । खेल अतिरिक्त समयसम्म तानियो वा पेनाल्टीको स्थितिमा पुग्यो भने चाहिँ पोर्चुगलले जित्न सक्ने फूटबल पण्डितहरूको कथन छ । 
 

salt training

कमेन्ट गर्नुहोस्