
विश्वकप २०२६ को आयोजक राष्ट्र मेक्सिकोका खेलाडी र कर्मचारीहरूले उपहार स्वरूप पाएको १० लाख अमेरिकी डलर बराबरको विलासी रोलेक्स घडी फिर्ता गरेका छन्।
अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटर 'स्टिभ विल डु इट' ले दिएको यो महँगो उपहार फिफाको आचारसंहिता विपरित हुने भएपछि टोलीले यस्तो निर्णय लिएको हो।
मेक्सिकोको राजधानीस्थित एस्टाडियो एस्टेकामा इक्वेडर विरुद्धको खेल हुनुभन्दा एक दिन अघि अमेरिकी युट्युबर स्टिभ (स्टेफन डेलियोनार्डिस) ले मेक्सिकन टोलीका खेलाडी र अफिसियलहरूलाई भेटेका थिए। उनले प्रशिक्षक जाभियर अगुइरेको टोलीका प्रत्येक सदस्यलाई विलासी रोलेक्स घडी उपहार दिएका थिए।
उनले आफ्नो युट्युब भिडियोमा दाबी गरे अनुसार ती घडीहरूको कुल मूल्य १० लाख डलर रहेको थियो। संकलनमा रहेका प्रत्येक घडीको बजार मूल्य ३० हजार डलर देखि ९० हजार डलर सम्म थियो।
सुरुमा खेलाडीहरूले यो महँगो उपहारलाई निकै उत्साहका साथ स्वीकार गरेका थिए। तर पछि फिफाको आचारसंहिता बाधक बनेर आयो। फिफाको आचारसंहिताको धारा २१ मा उपहार सम्बन्धी कडा व्यवस्था छ। उक्त नियम अनुसार फुटबलसँग आबद्ध व्यक्तिहरूले 'प्रतीकात्मक वा सामान्य मूल्य' बाहेकका अन्य कुनै पनि प्रकारका उपहार लिन पाउँदैनन्।
फिफाले कसैलाई प्रभाव पार्ने गरी वा स्वार्थको द्वन्द्व सिर्जना हुने गरी दिइने उपहारलाई पूर्णतः प्रतिबन्ध लगाएको छ।
यदि यो नियम उल्लंघन भएको पाइएमा सम्बन्धित व्यक्तिलाई १२ हजार ५०० डलर जरिवाना र दुई वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लाग्न सक्छ। यस्तो कडा सजायको जोखिम मोल्नु भन्दा मेक्सिकन फुटबल संघ र खेलाडीहरूले उपहार फिर्ता गर्नु नै उचित ठाने।
मेक्सिकन राष्ट्रिय टोलीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "आपसी सहमतिमा हाम्रा खेलाडीहरूले कन्टेन्ट क्रिएटर स्टिभले आफ्नो तर्फबाट दिएका घडीहरू उनलाई नै फिर्ता गर्ने निर्णय गरेका छन्।"
मेक्सिकोमा बस्दै आएका स्टिभले आफूलाई यो देश र यहाँको फुटबल टोली निकै मन पर्ने बताउँदै आएका छन्। घडी फिर्ता पाए पनि स्टिभलाई यो खेलबाट आर्थिक रूपमा भने फाइदा नै भयो। उनले मेक्सिकोले इक्वेडरलाई हराउने पक्षमा २० लाख डलरको बाजी राखेका थिए। मेक्सिकोले उक्त खेल २-० ले जितेपछि उनले १० लाख डलर नाफा कमाएका छन्।
आफ्नै मैदानमा भइरहेको विश्वकपमा मेक्सिकोले अहिलेसम्मका सबै चार खेल जितेर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। अब अन्तिम १६ को महत्वपूर्ण खेलमा मेक्सिकोले इंग्ल्याण्डको सामना गर्दैछ। यदि यो खेल जितेमा अगुइरेका खेलाडीहरू मेक्सिकन फुटबलको इतिहासमा अमर बन्नेछन्।