०४ असार २०८३, बिहीबार

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

असार १४, २०७८
एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।

पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार्टी गठन गर्नेसम्मको तयारीमा जुटेपछि विवादको कारण बनेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत भएका हुन् । एमाले ब्युँताएयता खनाल र नेपाल तथा गौतम समूह कुनै पनि बैठकमा सहभागी भएको छैन ।

त्यसयता ओली समूहको बैठक बस्ने र विभिन्न निर्णय गर्ने गरेको छ । उता खनाल नेपाल समूह पनि समानान्तर बैठकलाई निरन्तरता दिँदै सोहीअनुसारको निर्णयका आधारमा अघि बढिरहेको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रस्ट पारेका छन् । पार्टीलाई एकताबद्ध बनाउन महाधिवेशन आयोजक कमिटी विघटन गरेर साबिकको एमाले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

‘अब नेकपा (एमाले)मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ रिजालले ट्वीटरमा लेखेका छन् ।

१०औं महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचना २ जेठ २०७५ मा फर्किएको घोषणा गर्ने तयारीमा पार्टी अध्यक्ष ओली रहेको एमाले स्रोतले जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा यस विषयमा गम्भीर रूपमा छलफल भएको छ । बैठकले १५ असारमा स्थायी कमिटी बैठक र १६ असारमा महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्