०५ असार २०८३, शुक्रबार

झापाका दुई गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

असार १४, २०७८
झापाका दुई गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने

झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । 

झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले रु पाँच लाख रकम विनियोजन गरेको छ ।

यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताए । 

झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । सो औषधि खरिदका लागि पालिकाले रु १० लाख रकम विनियोजन गरेको छ । पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा रु दुई हजार सहयोग दिने गरेकोमा यस वर्ष बृद्धि गरी रु १० हजार प्रदान गर्ने गरी रु २० लाख रकम बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष साहले बताए ।

झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कूल रु ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्