काठमाडौं २३ जेठ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आफ्नो पार्टीको आदर्श भएको भन्दै राष्ट्रियताको पाठ कसैले सिकाउनु नपर्ने बताएका छन् ।
मंगलवार व्यबस्थापिका संसदको बैठकलाई सम्वोधन गर्दै देउवाले राष्ट्रियता र प्रजातन्त्रको बिषयमा कसैसंग सम्झौता नगर्ने बताएका हुन् । ‘राष्ट्रियता कांग्रेसको सिद्धान्त र आदर्श हो, यसमा कसैले हामीलाई पाठ सिकाउनु पर्ने छैन्’ देउवाले भने ।
प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले उठाएका केही प्रश्नको जवाफ दिनमात्र आफू रोष्टममा उभिएको देउवाले बताए । ओलीले सम्वोधनका क्रममा कांग्रेसलाई प्रश्न तेर्साएका थिए ।
ओलीले हुलाकी राजमार्ग निर्माणमा एमालेले पहल कदमी लिएको दावी गरेपनि देउवाले हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले शुरु गरेको दावी गरे ।