१५ असार २०८३, सोमबार
प्रधानमन्त्री ओलीको सम्बोधन

देउवालाई ओलीको प्रश्न– चुनावमा जानु प्रतिगमन भए असोज १८ र माघ १९ के थियो ?

देउवालाई ओलीको प्रश्न– चुनावमा जानु प्रतिगमन भए असोज १८ र माघ १९ के थियो ?
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशका लागि जनतामा जाने विषयको विरोध गर्नु गलत थियो भनेर कांग्रेसले पछि मात्र थाहा पाउने टिप्पणी गरेका छन् । 

साथै उनले कांग्रेस प्रचण्डपथमा लागेको देख्दा आफूलाई आश्चर्य लागेको टिप्पणी समेत गरेका छन् ।

मदन भण्डारी फाउन्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले जनताबाट निर्वाचित भएर प्रधानमन्त्री बन्नुको सट्टा कांग्रेस सभापति शेरबहादुर देउवाले जालीफटाहालाई टिपेर अलोकतान्त्रिक ढंगबाट प्रधानमन्त्री बन्न खोजेको आरोप लगाए ।

‘अहिले राष्ट्रिय राजनीति केही नेताका वैयक्तिक स्वार्थले धमिल्याएको छ । कांग्रेसले पनि के थाहा पाउने छ भने देउवा प्रधानमन्त्री हुन केही जालीफटाहालाई टिपेर अलोकतान्त्रिक मार्गबाट अगाडि बढ्नु गल्ती थियो । संसद्बाट बनेको भए हुन्थ्यो, जनतामा गए हुन्थ्यो, अन्तैबाट हुन खोज्नुभयो,’ ओलीले भने, ‘जनतामा जाने कुरालाई कू भन्नुभयो । जनतामा जाने प्रस्ताव कू हो भने २०१७ सालको घटना लोकतान्त्रिक अभ्यास थियो ?’

ताजा जनादेशका लागि जनतामा जाने कुरालाई कू नभन्न ओलीले कांग्रेससँग आग्रह गरे । 

‘माघ १९ के थियो ? निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गर्ने असोज १८ को घटना के थियो ? त्यतिखेर उहाँले कू भन्न सक्नुभएन, जनतामा जाने संवैधानिक कुरा गर्दा कू भनेको छ, प्रतिगमन भनेको छ । प्रचण्डको भाषा सापटी लिएर, सापटी मात्र होइन देउवाले भाषा शैली आफ्नै बनाउनुभयो,’ ओलीले भने । 

२०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई चुनाव गर्न अक्षम भन्दै प्रधानमन्त्री पदबाट हटाएका थिए ।

कार्यक्रममा ओलीले प्रचण्डको पुच्छर बनेर एमालेलाई सिध्याउन हिँडेको भन्दै माधव नेपालको पनि चर्को आलोचना गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्