
रूपन्देहीमा भोलि (मंगलबार)देखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै जोरबिजोर प्रणालीमा ‘पब्लिक भेइकल’ जिल्लाभित्र सञ्चालनमा गरिने भएको हो ।
सवारीसाधनको सिट क्षमताको आधा मात्रै यात्रु चढाउन पाइनेछ भने यातायात भाडामा ५० प्रतिशत वृद्धि भएको छ ।
चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।
२१ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै ‘पब्लिक भेइकल’ सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन निसंक्रमित गर्नुपर्नेछ । मोटरसाइकल/स्कुटरसमेत जोर बिजोर प्रणाली लागू (जोर गते जोर नं र बिजोर गते बिजोर नं) चलाउन पाइने छ ।
स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् ।
त्यस्तै औषधी खरिद तथा औषधी उपचार गर्न बाहेक नेपालीहरु बेलहिया नाकाबाट आवतजावत गर्न नपाइने बताइएको छ ।
निषेधाज्ञामा भेला, भिडभाड, महोत्सव, सभा, जुलुस, सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, ब्युटीपार्लर र स्विमिङ पुल, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना लगायतका मानिसको बढी भीडभाड हुने क्षेत्र बन्द नै रहनेछन् ।
अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्य सम्बद्ध (औषधि, अक्सिजन सिलिन्डर), दूरसञ्चार इन्टरनेट मर्मत, कार्गाे, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ ।
विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइने छ ।
त्यस्तै यसका लागि दुई सवारीसाधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरी सम्बन्धी र इन्धनलगायत वस्तु ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ ।