
कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ। आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ। यससँगै रोग प्रसारको जोखिम भने बढेको छ। विज्ञहरू भन्छन्, ‘सावधानी अपनाउनु अत्यावश्यक छ।’
भाइरोलोजिष्ट एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डेका अनुसार, अहिले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएको छैन। संक्रमणको जोखिम कायमै छ। ‘चेन ब्रेक भएर आवागमन खुला गरिएको होइन’, डा. पाण्डेले भने, ‘संक्रमणको जोखिम हटेको छैन। बाहिर निस्कँदा सतर्कता अपनाउनै पर्छ।’
काठमाडौं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। अब २५ सिट क्षमताभन्दा माथिका बस जोर–बिजोर प्रणालीका आधारमा चल्नेछन्। चालक, सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्नेछ।
स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल लामो समय बन्द भएर घाटा व्यहोरिरहेका सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड पालना नगरी यात्रु कोच्ने संभावना रहेको बताउँछन्। डा. प्याकुरेल भन्छन्, ‘बसका सिटमा भौतिक दूरी कायम राख्नुपर्छ। प्रत्येक सिटमा सेनिटाइजर हुनुपर्छ। यसलाई कडाइका साथ अनुगमन गर्ने हो भने निषेधाज्ञा खुकुलो गर्नु ठिकै हो।’
प्रभावकारी अनुगमन गरी स्वास्थ्य मापदण्ड पालना गर्नेतर्फ ध्यान दिनु जरुरी छ।’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निषेधाज्ञाको आदेशमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेसनरी पसल साँझ ६ बजेसम्म खुल्ने उल्लेख छ। यसअघि सरकारले असार १७ गतेदेखि आन्तरिक हवाई उडान पनि खोल्ने निर्णय गरिसकेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उपत्यकामा अहिले पनि ८ हजार ३ सय ९७ जना सक्रिय संक्रमित छन्। शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन संक्रमणको जोखिम यथावत नै रहेको बताउँछन्। उनले भने, ‘संक्रमणको पहिलो र दोस्रो लहरबीचको अवधि जस्तो पनि छैन। दुई हजारको हाराहारीमा त अहिले पनि नयाँ संक्रमित भेटिएकै छन्। चेन ब्रेक भइहालेको भनि यकिन गर्न सकिँदैन।’
पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ४० जनाको परीक्षण गरिएको थियो। तीमध्ये २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।