०५ असार २०८३, शुक्रबार

बाँदर भुलाउन फल खेती

असार १५, २०७८
बाँदर भुलाउन फल खेती
सांकेतिक तस्वीर

बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि गोरखाका किसानले नयाँ जुक्ति लगाएका छन्। खेतबारी र घरभित्रै थन्क्याएको फसल पनि सत्यानाश पार्न थालेपछि किसानले बाँदरका लागि जंगलमै फलफूल लगाएर फकाउने अभ्यास सुरु गरेका हुन्।

पालुङटार नगरपालिका–९ का किसानले स्थानीय जंगलको दुई हेक्टरभन्दा धेरै क्षेत्रफलमा बाँदरका लागि फलफूल लगाइदिएका छन्। ‘सधंै बिहान झिस्मिसेदेखि राति अबेरसम्म मकैबारी कुर्नुपर्ने। आँखा झिम्क्याउन पाएको छैन, बाँदरको हुल पसेर सत्यानाश पार्ने। एउटा बस्तीबाट धपायो, अर्कोमा पुगेर हैरान पार्ने’,  स्थानीय दरांैदीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुपलाल कुमाल भन्छन्, ‘त्यसैले यसपालिदेखि हामीले बाँदरलाई जंगलमै आहारा मिलोस् भन्ने उद्देश्यले वनजन्य फलपूmल रोपेका छौं।’ सामुदायिक वनमा हर्रो बर्रो, अमला, अम्बा, लप्सी लगाएको उनले बताए। 

वनमासासहित जंगल मिचाहा प्रजातिका बिरुवा फाँडेर उनले फलफूल रोपेका हुन्। ‘जंगलमै प्रसस्त फलफूल पाएपछि बाँदर मानव बस्ती र खेतबारीसम्म आउँदैन कि भन्ने हाम्रो अनुमान हो’, उनले भने। किसानको योजनामा डिभिजनल वन कार्यालयले सहयोग गरेको उनले बताए।

यस वर्ष वन कार्यालय गोरखाले जिल्लाका विभिन्न चारवटा सामुदायिक वनलाई नयाँ अभ्यासका लागि सहयोग गरेको छ। ‘पहिलो चरणमा यस वर्ष जिल्लाभरका चारवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा वनजन्य फलफूल लगाउन सामुदायिक वनलाई सहयोग गरेका छौं’, डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले भने, ‘वन अतिक्रमण भएर बाँदर बस्ती र खेतबारीमा पसेको हुनसक्छ। यदि वनमै पर्याप्त फलफूल पायो भने किसानले सास्ती पाउँदैनन् कि भन्ने सोचेर यस्तो कार्यक्रम बनाएका हौं।’ यसको प्रभावकारिता अध्ययन गरेर आगामी वर्ष  पनि यसलाई विस्तार गरिने उनले बताए।  अन्नपूर्ण पोस्टमा शिव उप्रेतीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्