बलिउडमा अभिनेता अभिनेत्रीलाई फिल्मको बीचबाट निकाल्ने कुरा कुनै नौलो हैन ।
यसैबीच तापसी पन्नूले आफूलाई कुनै जानकारी नदिइकन फिल्मबाट बीचैमा निकालिएको बताएकी छन् । फिल्म शूटिङका लागि समय दिइसकेको भए पनि शूट शुरू हुनुभन्दा ठीक अघि आफूलाई निकालिएको उनले बताइन् ।
तर तापसीले कुन फिल्मबाट निकालिएको भनी खुलासा गरिनन् ।
तापसीले रेडियो जकी सिद्धार्थ कननलाई दिएको अन्तर्वार्तामा फिलमबाट हटाइएको जानकारी मिडियाबाट पाएको बताइन् । पछि फिल्ममेकरहरूले आफूसँग माफी मागेको तर रिप्लेस गर्ने कारण बताउन हिचकिचाएको उनले जानकारी दिइन् ।
यस अन्तर्वार्तामा तापसीले फिल्मको नाम नलिएको भए पनि खासमा उनलाई पति, पत्नी और वो फिल्मबाट निकालिएको थियो । उक्त फिल्मको शूटिङका लागि उनले समय छुट्ट्याइसकेकी थिइन् तर निर्माताहरूले निर्देशक मुदस्सर अजीजलाई अर्कै अभिनेत्री लिन भनेका थिए । तापसीले फिल्ममेकरहरूसँग कुरा गर्न खोज्दा उनीहरूले मानेका थिएनन् ।
तर पति, पत्नी और वोका निर्माताहरूले फिल्मका लागि धेरैजना अभिनेत्रीसँग कुरा गरेको अनि कसैसँग पनि कमिटमेन्ट नगरेको बताए ।