हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ ।
बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल गुल्मको पहलमा चट्टान फुटाइएको हो ।
लगातार वर्षाले चट्टान खस्न सक्ने जोखिमबाट त्रसित स्थानीय ढुक्क भएका छन् । स्थानीय २० घरधुरी ढुंगा खस्ने त्रासको उच्च जोखिममा रहेका थिए । वर्षासँगै भीरमा रहेको चट्टान खस्न थालेपछि सेनाको सहयोगमा पन्छाउने काम भएको योजना प्रमुख विसुनदास लामाले जानकारी दिए ।
जोखिमपूर्ण चट्टान फुटाइएपछि बस्ती सुरक्षित रहेको गुल्मपति सेनानी नरेशभक्त अधिकारीले बताए । सडक योजना, खार्पुनाथ प्रहरी चौकी र सेनाको टोलीको संयुक्त पहलमा चट्टान फोड्न सहज भएको उनको भनाइ छ ।