
स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ ।
आर्थिक वर्ष ७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमवारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन शुरू गर्ने तालिका तय गरिएको छ ।
पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया सहितको टोलीले आइतवार र सोमवार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमवारदेखि विद्युत् उत्पादनको तालिका तय गरेको हो ।
टोलीले विद्युत् गृहमा भइरहेको उपकरणको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसन लगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीसँग छलफल गरेको थियो ।
‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा पुर्याएका छौं, सम्पूर्ण परीक्षणहरू अन्तिम चरणमा पुगेका छन्, अब कुनै प्राविधिक समस्या नआएका सोमवार बिहान स्वीच अन गरी पहिलो युनिटबाट विद्युत् उत्पादन शुरू गर्छौं,’ उनले भने, ‘माथिल्लो र तल्लो ठाटो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा कम्पनीबाट तत्काल निर्णय नलिइएको भए आयोजना अझै पर धकेलिने अवस्था थियो, समयमै निर्णय गरी काम सम्पन्न गरेका छौं ।’
जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरूको सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विद्युत् गृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ ।
७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ । माथिल्लो तामाकोशीको विद्युत् गृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ ।
खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ । ‘सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकाले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत् न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्ेटसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ,’ शाक्यले भने, ‘यसका लागि आवश्यक प्रबन्ध गरिसकेका छौं ।’
सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ । सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउने छ ।
आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पहुँच सडक, पुल लगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३ मा र मुख्य संरचनाको निर्माण आर्थिक वर्ष २०६७/६८ मा शुरू भएको थियो । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइप लगायतका हाइड्रोमेकानिकल उपकरणहरू उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।
भूकम्पले गर्दा झण्डै २ वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रूपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व, आयोजनामा खटिएका कर्मचारी, ठेकेदार कम्पनीहरू, स्थानीय वासिन्दा लगायत सबैको अथक प्रयास र सहयोगमा आयोजना विद्युत् उत्पादन गर्ने अवस्थामा पुगेको छ ।
आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करीब १ अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।