२८ जेठ २०८३, बिहीबार

इंग्ल्यान्ड र जर्मनीबीच युरोकपमा भिडन्त आज, कसले मार्ला बाजी ?

असार १५, २०७८
इंग्ल्यान्ड र जर्मनीबीच युरोकपमा भिडन्त आज, कसले मार्ला बाजी ?

चिरपरिचित प्रतिद्वन्द्वी इंग्ल्यान्ड र जर्मनीबीच मंगलवार राति वेम्ब्ली स्टेडियममा युरोकपको राउन्ड अफ १६ को खेल हुन लागेको छ । 
 

इंग्ल्यान्ड ग्रुप डीको समूह विजेता बनेर अनि जर्मनी ग्रुप एफको उपविजेता बनेर राउन्ड अफ १६ मा आइपुगेका हुन् । 
 

इटलीपछि एक गोल पनि नखाई यस चरणमा पुग्ने टोली इंग्ल्यान्ड नै हो । तर इंग्ल्यान्डले आफैं गोल गर्न चाहिँ संघर्ष गरिरहेको छ । 
 

रहीम स्टर्लिङले क्रोएसियाविरुद्ध एक गोल गरेका थिए अनि चेक गणतन्त्रका विरुद्ध पनि एक गोल गरे । तर स्कटल्यान्डविरुद्धको खेलमा इंग्ल्यान्डले गोल गर्नै सकेन । 
 

इंग्ल्यान्डले लगातार नौ खेलमा हार बेहोरेको छैन तर उसका पछिल्ला चार विजयहरू जम्मा १–० को गोल अन्तरले भएका छन् । त्यसैले जर्मनी जस्तो आक्रामक फूटबल खेल्ने टोलीका विरुद्ध एक गोल मात्र पर्याप्त नहुने खतरा छ । 

उता जर्मनीको कुरा गर्दा ग्रप अफ डेथ भनिने ग्रुप एफमा दोस्रो हुँदै ऊ राउन्ट अफ १६ मा आइपुगेको हो । फ्रान्ससँग हारेर पोर्चुगललाई जितेर अनि हंगेरीसँग बराबरी गरेर जर्मनीले कहिले उत्कृष्ट, कहिले औसत प्रदर्शन देखाएको छ । 

सन् २०१४ को विश्वकप जितेको जर्मनीको त्यही लय कायम छैन । तर प्रमुख प्रतियोगितामा ऊ माथिसम्म पुग्ने गरेको छ भलै सन् २०१८ को विश्वकपमा ऊ प्रथम चरणबाटै बाहिरिएको होस् । 

सन् २०१२ र २०१६ को युरोकपमा जर्मनी लगालग दुईपटक सेमीफाइनलबाटै बाहिरिएको थियो । 

जर्मनी र इंग्ल्यान्डबीच पछिल्लोपटक प्रतियोगितामा भिडन्त भएको सन् २०१० को विश्वकपमा हो । त्यसबेलामा जर्मनी ४–१ ले विजयी भएको थियो । सन् २०१७ मा भएको मैत्री खेलमा दुवैले गोलरहित बराबरी खेलेका थिए । 
 

इंग्ल्यान्डका लागि स्टार्टिङ लाइनअप यसप्रकार हुन सक्नेछ :
 

पिकफोर्ड, वाकर, स्टोन्स, मग्वायर, श, राइस, फिलिप्स, फोडेन, ग्रीलिश, स्टर्लिङ, केन

जर्मनीको लाइनअप यसप्रकार हुन सक्नेछ :
 

नोयर, गिन्टर, हम्मल्स, रुडिगर, किम्मिच, क्रूस, गोरेज्का, गोसन्स, हाभेर्ज, मुलर, जिनाब्री

आजको खेल इंग्ल्यान्डको वेम्ब्लीमा खेलिने भएकाले घरेलु समर्थकको हौसला इंग्ल्यान्डलाई प्राप्त हुनेछ । विगत हेर्दा जर्मनी नै विजेता हुनुपर्ने हो तर अहिलेको फर्म हेर्दा इंग्ल्यान्डको सम्भावना बढी देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्