
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आईसीसी पुरुष टी–२० विश्वकप २०२१ यूएई र ओमानमा गर्ने भएको छ।
कोरोना महामारीका कारण प्रतियोगिता भारतमा गर्न नसकिए पनि आयोजक भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई नै रहने आईसीसीले आज सूचना जारी गरेर जनाएको छ।
१७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुने प्रतियोगिता दुबई अन्तर्राष्ट्रिय रंगशाला, आबुधाबीको द शेख जायद रंगशाला, सारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमीको मैदानमा हुनेछ।
आईसीसीका निमित्त सीईओ जेफ अलार्डिसले आफूहरूको प्राथमिकता विश्वकप सुरक्षितरूपमा सम्पन्न गर्नु भएको बताएका छन्। ‘भारतमा प्रतियोगिता गर्न नसकेकोमा हामी निराश छौं,’ उनले भनेका छन्, ‘सुरक्षित देशमा प्रतियोगिता गर्न गइरहेका छौं, यसले सबै टिमलाई सुरक्षित वातावरणमा खेल्न मद्दत पुग्नेछ।’
यस्तै बीसीसीआईका सचिव जय साहले प्रतियोगिता भव्य रूपले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन्।