
नेकपा एमालेले मुलुकको राजनीति जटिल अवस्थातर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । सिद्धान्तहीन गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएको एमालेको निष्कर्ष छ ।
भोलि बस्ने महाधिवेशन आयोजक कमिटी बैठकको तयारी स्वरुप बसेको एमाले स्थायी कमिटी बैठकले मुलुकको राजनीतिक परिस्थिती जटिल र गम्भीर बनेको निष्कर्ष निकालेको हो । यद्यपि यसबारे औपचारिक कुनै निर्णय भने भएको छैन ।
‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णयको अतिरिक्त पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पनि बैठकमा छलफल भयो’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले लोकान्तरसँग भने, ‘मुलुकको परिस्थिती जटिल र गम्भीर रहेको, लोकतन्त्रलाई कमजोर बनाउने प्रवृत्ति बढेको र सिद्धान्तहीन गठबन्धन बनेको हाम्रो निष्कर्ष छ ।’
एमालेले पार्टीभित्रको समस्या समाधानका लागि बुधवार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । ‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने र त्यसको बैठक १८ गते बोलाउने औपचारिक निर्णय भएको छ’ ज्ञवालीले भने ।
प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक कमिटीप्रति विमति राखेका नेताहरु केन्द्रीय कमिटीको बैठकमा सहभागि हुने विश्वास व्यक्त गरे ।
भोलिको बैठकका लागि माधव नेपाल पक्षका ११ जना बाहेक अन्यलाई सूचना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
‘कारवाहीमा परेका ११ जना मध्येका केन्द्रीय सदस्य बाहेक अन्यलाई नियन्त्रण गरिएको छ’ तामाङले लोकान्तरसँग भने । नेता नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायत ११ जनालाई भने निमन्त्रण गरिएको छैन । महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ ।
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेको, बागमती प्रदेशमा पार्टीको उम्मेदवारको विपक्षमा मतदान तरेको तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपाल सहित ११ जना कारवाहीमा परेका थिए ।
योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायत नेताहरुलाई भने बुधवारको बैठकमा सहभागिताको लागि सूचना गरिएको छ । ‘भोलिको बैठकमा सहभागि हुनेबारे उहाँहरु छलफलमा जुट्नु भएको सूचना पाएका छौं’ संस्थापन पक्षका एक नेताले लोकान्तरसँग भने ।
बुधवारको बैठकमा पूर्व माओवादी पृष्ठभूमिका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरु भने सहभागि हुनेछन् । सचिव तामाङले रामबहादुर थापा लगायतका नेताहरु बैठकमा सहभागि हुने जानकारी दिए ।
अहिलेको एमाले नेकपाको उत्तराधिकारी पार्टी भएकोले एकतापछि एमालेमा रहेका नेताहरु बैठकमा सहभागि हुने संस्थापन पक्षले बताएको छ ।