
नेता माधवकुमार नेपाल पक्षले राखेको माग अनुसार जेठ २ गतेकै केन्द्रीय कमिटी ब्यूँताउन नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि आयोजक कमिटीको बैठक बस्न लागेको हो ।
महाधिवेशन आयोजक कमिटीले जेठ २ गतेकै केन्द्रीय कमिटी ब्यूँताउने निर्णय लिने प्रवक्ता प्रदीप ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
मंगलवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेर जेठ २ गतेकै केन्द्रीय कमिटी ब्यूँताउने निर्णय गरेको थियो ।
पुरानो केन्द्रीय कमिटीको बैठक पर्सि १८ गतेका लागि बोलाउने तय भएको प्रवक्ता ज्ञवालीले बताए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता भंग गर्दै एमाले र माओवादीलाई ब्यूँताइदिएपछि चैत्र ७ गते केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
केन्द्रीय कमिटी ब्युतिएपछि माधव नेपाल पक्षको ठूलो हिस्सा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने संस्थापन पक्षको विश्लेषण छ । बुधवारको बैठकमा सहभागी नभएपनि १८ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने एमाले स्रोतले बतायो ।