बलिउडका कतिपय अभिनेत्रीहरूबीच वैमनस्यको स्थिति छ ।
जोसँग पनि झगडा गर्न तम्सिने कंगना रनावतको त धेरैजनासँग शीतयुद्ध हुने नै भयो । तापसी पन्नूसँग कंगनाको झगडा पनि पुरानै हो ।
कंगना र उनकी दिदी रंगोली चन्देलले तापसीलाई तारो बनाउने गरेका छन् र तापसीले पनि उनीहरूलाई जवाफ फर्काउने गर्छिन् ।
यसैबीच तापसीले ट्विटरमा कंगनालाई पटक्कै मिस नगर्ने र आफ्नो जीवनमा कंगनाको कुनै महत्त्व नभएको बताइन् ।
तापसीले हिन्दुस्तान टाइम्ससँग कुरा गर्ने क्रममा कंगनामाथि टिप्पणी गरेकी हुन् । उनले कंगना आफू नजिक नढिम्किए पनि हुन्थ्यो भनिन् । ट्विटरले कंगनालाई प्रतिबन्ध लगाउनुअघि पनि कंगनालाई देख्न नचाहेको र अहिले पनि नचाहेको तापसीले बताइन् । कंगनाप्रति राम्रो वा नराम्रो कुनै पनि भाव आफूमा नआउने तापसीको भनाइ छ ।
गत साता तापसीले रुसको भ्रमणमा सारी लगाएर तस्वीर शेयर गरेकी थिइन् । त्यसलाई हेरेर रंगोलीले तापसी फेरि कंगनाको नक्कल गर्दैछिन् भनी टिप्पणी गरेकी थिइन् । उनले तापसीलाई तर्साउने प्रशंसक (क्रीपी फ्यान) समेत भनेकी छन् ।
पहिला पनि उनले तापसीलाई कंगनाको सस्तो कपी भन्ने गरेकी थिइन् ।
त्यसैको जवाफ तापसीले फर्काएको हुनुपर्छ ।