
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्व ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन् ।
उनले भने, 'योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।'
बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरे ।
उनले भने, 'राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौ । विकास गर्दै लगेका थियौं । इतिहासमा पहिले कहिल्यै नभएका ठूल्ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।'
सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदामा पार्टी भित्रभित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्दा ढंगले प्रकट हुँदै आएको टिप्पणी उनले गरे ।
उनले भने, 'खासगरि सञ्चारमाध्यममा पार्टीका नीतिहरू अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइज्जति र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरूको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरू चलिरहे । प्रचारात्मक ढंगले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दु;खी छन् र निराश छन् ।'
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता शुरू भएको दाबी गरे ।
पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षडयन्त्र,तिकडमका साथ गुटबन्दीमा क्रियाशिल भएको जिकिर प्रधानमन्त्री ओलीले गरे ।
अहिले त्यो खेल विरोधीहरूसँगको साँठगाँठमा प्रवेश गरेको पनि उनले टिप्पणी गरे । पार्टीभित्र पार्टी सञ्चालनका लागि अवैध सम्झौता गर्नुपर्ने अवस्था सिर्जना गरिएको उनले दाबी गरे ।
उनले भने, 'सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता शुरू भयो, पदीय आकांक्षाका लागि । अस्वस्थ्य पदीय आकांक्षाका लागि । जालझेल, षडयन्त्र, तिकडमबाट ,पार्टीभित्रको अस्वस्थ्य गुटबन्दीबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशील भए । त्यसले पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । २ वर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल शुरू भयो । त्यो खेल अब विरोधीहरूसंगको साँठगाँठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुँदै आए ।'
उनले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जाँदैछ भन्ने स्थितिसम्म सिर्जना भएको बताए ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्यका साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको स्मरण गरे ।
पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफुले संसद विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुन:स्थापनापछिको पहिलो दिनको संसद् बैठकमा भएका क्रियाकलापको पनि चर्चा गर्नुभयो ।'