
बलिउड नायिका शिल्पा सेट्टी लामो समयपछि चलचित्रमा देखिएकी छन्। तर, उनको चलचित्र फिल्महलबाट होइन, ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ।
यो चलचित्र हो ‘हंगामा २’, जसको निर्देशन प्रियदर्शनले गरेका हुन्। चलचित्र डिज्नीप्लस हटस्टार बीआईपीमा जुलाई २३ मा प्रदर्शनमा आउने छ।
हंगामा २ प्रियदर्शनको कमेडी चलचित्र ‘हंगामा’को सिक्वेल हो, जुन सन् २००३ मा रिलिज भएको थियो।
हंगामामा परेश रावल, अक्षय खन्ना, शोमा आनन्द, रिमी सेन र आफताब शिवदसानी मुख्य भूमिकामा थिए। राजपाल यादव, मनोज जोशी, उपासना सिंह, शक्ति कपूर र टीकु तलसानियाले सहयोगीको भूमिका निभाएका थिए।
हंगामा २ मा परेश रावल, टीकु तलसानिया, मनोज जोशी र राजपाल यादवबाहेक अरू सबै नयाँ छन्। यसमा मिजान जाफरी, प्रणिता सुभाष, आशुतोश राणा, जनी लिभर सहयोगी भूमिकामा देखिनेछन्। अक्षय खन्नालाई पनि केही दृश्यहरूमा देखाइने खबर छ।
शिल्पा धेरै लामो समयपछि चलचित्रको मुख्य भूमिकामा देखिन थालेकी हुन्।