
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन् ।
विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रको रक्षाका लागि ५ दलीय गठबन्धन बनेको स्पष्ट पारे ।
नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा उनले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गरे । उनले भने, “ लोकतन्त्र,राष्ट्र,संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौ । ओलीका विरुद्ध जाने हदसम्म तपाईहरुसंग हो हामी तर तपाईहरु भित्र पनि हामीले ओली देखेका छौ हामीले । त्यसैले धेरै आशा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँ सम्म हामी संगै छौ भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसंग आत्मसाथ गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु । ”
राजनीतिक दलका नेताहरु समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल विर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उनले सबै नेताहरु उस्तै नभएको दाबी गरे ।
कम्युनिष्ट पार्टी एकीकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको टिप्पणी गरे । उनले विश्वभरका कम्युनिष्ट पार्टीहरूमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए ।