
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको एक सय वर्ष पूरा भएको उपलक्ष्यमा बेइजिङमा बिहीवार आयोजना गरिएको एक भव्य समारोहमा राष्ट्रपति सी चिनफिङले विदेशी शक्तिको हेपाइलाई चीनले नसहने अडान राखेका छन् ।
चीनलाई कसैले पनि उपदेश दिन र हेप्न नहुने अनि यसो गर्न खोज्नेले चीनका १ अर्ब ४० करोड मानिसले बनाएको फलामको पर्खालसँग ठोकिनुपर्ने सीले बताए ।
तियानानमेन स्क्वेयरमा भेला भएका ७० हजार मानिसलाई सम्बोधन गर्दै सीले चीनलाई गरीबी तथा बेइज्जतीबाट उकासेकोमा सत्तारूढ दलको प्रशंसा गरे अनि चीनको सेना तथा प्रभावलाई विस्तार गर्ने प्रतिज्ञा पनि गरे ।
माओत्से तुङको तस्वीर राखिएको गेट अफ हेभन्ली पीसअगाडि उभिएर सीले चीनलाई हेप्ने युग सदाको लागि समाप्त भएको बताए ।
सीका कडा भाषणलाई चिनियाँ कम्युनिस्ट पार्टीका दशौं हजार कार्यकर्ताले ताली बजाएर समर्थन गरेका थिए ।