अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसको कार्यालयमा काम गर्न अप्ठ्यारो रहेको र चीफ अफ स्टाफ समस्याको जड रहेको खुलासा भएको छ ।
कार्यालयमा स्वस्थ वातावरण नरहेको र कर्मचारीहरूलाई हेपेर व्यवहार गरिने पोलिटिको पत्रिकाले बुधवार खबर दिएको छ ।
विशेषगरी ह्यारिसका कर्मचारीहरू कमलाले आप्रवासी संकटको मूल्यांकनका लागि दक्षिणी सीमाको भ्रमण गरेकोमा आत्तिएका छन् । टीमका सदस्यहरूका लागि त्यो अव्यस्थाको क्षण भएको बताइएको छ ।
कार्यालयमा प्रोत्साहन नगरिएको, सञ्चार सुविधामा छिद्र भएको र सहयोगी तथा वरिष्ठ अधिकारीहरूबीच विश्वासको अभाव भएको पाइएको छ ।
पोलिटिकोका अनुसार, ह्यारिसकी चीफ अफ स्टाफ टिना फ्लोरनोय समस्याकी जड हुन् । ह्यारिस र बाइडनसँग काम गरेका २२ बहालवाला तथा पूर्व कर्मचारीहरूले कार्यालयमा फ्लोरनोएले विषाक्त वातावरण निर्माण गरेको अनि कसैले आइडिया निकाल्दा त्यसलाई कठोरतापूर्वक अस्वीकार गर्ने गरेको बताए ।
ह्यारिस आफैंले पनि कार्यालयको वातावरण सुधार्नका लागि प्रयास नगरेको केहीले बताए ।
ह्यारिसका कर्मचारीहरूमाथि दुर्व्यवहार भइरहेको कुरा बाइडनका कर्मचारीहरूले समेत थाहा पाएका छन् ।