
नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल (फेसबूक) बाट भ्रामक सूचना पोस्ट भइरहेको भन्दै बैंकले बिहीवार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।
बैंकले आफ्नो नाममा फेसबूक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबूक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबूक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।
‘हालसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबूक पेज नरहेको र यसबाट बैंकको कुनै पनि सूचना तथा जानकारी नगरिएको व्यहोरा सबैलाई जानकारी गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
अनाधिकृत रूपमा राष्ट्र बैंकको फेसबूक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट गराउनेलाई साइबर अपराधसम्बन्धी कानून बमोजिम कारबाही गरिने बैंकले जनाएको छ ।
यसअघि बुधवार नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत् अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदानप्रदान नगर्न आग्रह गरेको हो ।
पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना बीमाको रकम आयो भन्दै बैंक खाता नम्बर माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग भइरहेको छ ।