
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० का ८० दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ ।
वडाका सबै समुदायका परिवारका लागि १/१ थान फिल्टर वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाबाट विभिन्न कार्यक्रम गर्दै आएकामा दलित समुदायको उत्थानका लागि फिल्टर वितरण गरिएको बताइन् ।
नगरपालिकाले आयोजना गरेको कार्यक्रम सफल बनाउनका लागि सोही समुदायका व्यक्ति बढी क्रियाशील हुन आवश्यक रहेको उनले सुनाइन् ।
दलित समुदायको आयआर्जन वृद्धि गर्दै आर्थिक उन्नतिका लगि नगरपालिकाबाट गर्नुपर्ने काममा समेत आवश्यक सुझाव दिन उनले आग्रह गरिन् ।
वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रम गर्दै आएको र आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमूलक कार्यमा प्रयोगका लागि बाजा खरिदका योजना बनाइएको बताए ।
नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वडा नम्बर १० को सो टोललाई वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै त्यसको सफल कार्यान्वयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यकता रहेकामा जोड दिए ।