
आन्तरिक विवादमा फसेको एमालेको विवाद मिलाउन प्रयास जारी छ । सबैबीचमा बिहीबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ओली र नेपालबीच टेलिफोनमा कुरा भएको बताए। ओली र नेपालबीच आज भेटवार्ता हुनसक्ने पनि नेताहरुको दावी छ ।
आजै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको बैठक बस्न लागेको हो ।
बुधवार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले पुरानै कमिटी ब्यूँताउँदै शुक्रवारका लागि बैठक बोलाएको थियो । तर बिहीवार बसेको माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको भेलाले बैठकमा सहभागि नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।
नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने आफूहरुको निश्कर्ष रहेको रावलले बताए । यसअघि नेपाल पक्षले गत फागुन २८ गते गरेका निर्णय सच्चाएर जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएको थियो । नेपाल पक्षको माग बमोजिम हिजोको बैठकले २०७५ जेठ २ अघिकै केन्द्रीय कमिटी व्युताउँदै भोलि शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।
महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएसँगै माधव नेपाल पक्षका नेताहरूमाथि गरिएको कार्वाही निष्प्रभावी भएको थियो । कर्णाली प्रदेशमा माओवादी सरकार बचाउन फ्लोर क्रस, बागमती प्रदेशमा बागी उम्मेदवार खडा गरेको तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपाल पक्षका नेताहरूमाथि कार्वाही भएको थियो ।
बैठकले महाधिवेशनको विषयमा केही निर्णय लिने अपेक्षा गरिएको छ ।