काठमाडौँ, २४ जेठ- प्रधानन्यायाधीश सुशीला कार्कीले बिदा हुनु एक दिनअघि न्यायपरिषद्को अध्यक्षको हैसियतमा भावी प्रधानन्यायाधीशको नाम सिफारिस गरेकी छिन् । कार्कीले सोमबार संवैधानिक परिषद्को अध्यक्षको नाममा सम्बोधन गर्दै भावी प्रधानन्यायाधीश सिफारिसको पत्र परिषद् सचिवालयमा दर्ता गराएको स्रोतले बतायो, आजको नयाँ पत्रिकामा खबर छ ।

न्यायपरिषद् बैठकको बहुमत सदस्यको निर्णयका आधारमा भावी प्रधानन्यायाधीशको नाम संवैधानिक परिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था रहेको सचिव नहकुल सुवेदीले जानकारी दिए । तर, प्रधानन्यायाधीश कार्कीले अवकाशको दुई दिनअघि आफूखुसी भावी उत्तराधिकारीको नाम सिफारिस गरेकी हुन् । उनी ६५ वर्षको उमेर हदका कारण अवकाश लिँदै छिन् । उनी सर्वोच्चबाट सहकर्मीसँग बिदा भएर मंगलबार बिहान ११ बजेर १५ मिनेटपछि बाहिरिएकी थिइन् ।
कार्कीले भावी प्रधानन्यायाधीसमा सिफारिस गरिएकामा सर्वोच्चका वरिष्ठतम न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश श्रेष्ठ, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीशप्रसाद शर्मा छन् । यी नामसहितको सिफारिसपत्र संवैधानिक परिषद्को सचिवालयमा दर्तासमेत भएको स्रोतले बतायो । प्रधानन्यायाधीश कार्कीले संवैधानिक परिषद्मा गरेको सिफारिसपत्र अवैधानिक भएको महान्यायाधिक्ता रमणकुमार श्रेष्ठले बताए । परिषद्को बैठक नै नबसी नाम सिफारिस गर्न नपाइने उनको भनाइ छ ।