इजरायलले संसारमै पहिलोपटक सैन्य कारवाहीमा कृत्रिम बौद्धिकता (एआई) को उपयोग गरेको छ ।
इजरायलको यो कदमले भविष्यमा युद्धको परिदृश्य नै परिवर्तन गरिदिने बताइएको छ । गाजा स्ट्रिपमा हमास लडाकूहरूका विरुद्ध सैन्य कारवाहीमा एआईयुक्त ड्रोन स्वार्म इजरायलको प्रयोग गरेको हो ।
यस कारवाहीका दौरान इजरायली सेनाले गाजामा नपसिकनै आफ्नो लक्ष्यलाई खोजीखोजी सफलतापूर्वक ध्वस्त पारेको छ ।
यस हाइब्रिड वारमा संलग्न इजरायली सेनाका एक वरिष्ठ अधिकारीले पहिलोपटक यसरी एआई प्रविधिको व्यापक प्रयोग सैन्य कारवाहीमा गरिएको बताए ।
यसअघि एआईको उपयोग हमासका क्षेप्यास्त्र आक्रमणबाट प्रतिरक्षा गर्न तथा लक्ष्यको पहिचान गर्न मात्र गरिन्थ्यो ।
एआई प्रविधिले इजरायली रकेटलाई घना बस्तीतर्फ जान रोक्नेछन् । त्यस्तो अवस्थामा सर्वसाधारण प्यालेस्टाइनीहरूमा कम क्षति पुग्ने तर हमासका लडाकू चाहिँ छानीछानी मारिने हुन्छ ।
अनि यस हतियार प्रणालीले आफैं रकेट लोन्च गर्न पनि सक्छ । एआई ड्रोनको आक्रमणको आवश्यकता परेमा मिसाइल आफैं टार्गेटलाई लक गरेर लोन्च हुनेछ ।
यस्तो अवस्थामा गाजाबाट हमासले इजरायलतर्फ रकेट आक्रमण गर्नुअघि नै जवाफी कारवाही इजरायलले गरिदिन्छ । हमासका मिसाइल लोन्चिङ साइटहरू नै ध्वस्त हुन्छन् ।
यसले गर्दा इजरायलले वायु प्रतिरक्षामा धेरै खर्च पनि गर्नुपर्दैन । अहिलेसम्म हमासको रकेट रोक्नका लागि इजरायलले करोडौं रुपैयाँ पर्ने मिसाइलहरू प्रहार गर्नुपरिरहेको छ ।