
नेकपा एमालेका नेता माधव नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।
नेपाल पक्षको आग्रहलाई अध्यक्ष ओलीले अस्वीकार गरेका छन् ।
केन्द्रीय कमिटी बैठकअघि नेपाल पक्षका नेताहरू गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेले ओलीलाई बिहान बालुवाटारमा भेटेका थिए ।
बिहीवारको स्थायी कमिटीका सदस्यहरूको बैठकको निर्णयबारे जानकारी गराउन बालुवाटार गएको एक नेताले लोकान्तरलाई जानकारी दिए ।
‘हामीले आजको बैठक स्थगित गरेर सहमतिमा केन्द्रीय कमिटीको बैठक राख्न आग्रह गर्यौं, अध्यक्षज्यूले स्थगित गर्न सकिँदैन भन्ने अडान राख्नुभयो,’ ती नेताले भने ।
नेपालपक्षीय तीन नेताले माधव नेपाल पनि एकताको पक्षमा रहेको भन्दै भेटेर कुरा गर्न ओलीलाई सुझाव दिएका थिए ।
नेपाल पक्षका नेताहरू बाहिरिएपछि एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।