
केही दिनदेखिको अविरल वर्षासँगैको बाढीपहिरोले देशका विभिन्न ठाउँमा क्षति गरेको छ । यसले जनजीवन प्रभावित भएको छ । कतिको मृत्यु भएको छ भने कति बेपत्ता भएका छन् ।
बाढीपहिरोले मानिसहरूलाई घरबारविहीन बनाएको छ । बाढीपहिरोले प्रभावित मानिसहरूको उद्धारमा सुरक्षाकर्मीहरू खटिएका छन् ।
चितवनको राप्ती नगरपालिका–१२, पर्खालेको पहिरोमा पुरिएका चारजनाको शव निकाल्न नेपाली सेनाको उद्धार टोली खटिएको छ । त्यस्तै कालीका वस्ती इलाकामा पहिरोमा परेर पाँच जना हराइरहेका छन् । उनीहरूको पनि खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाको भनाइ छ ।
यस्तै सिरहा कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीले बगाएर ल्याएको दाउरा खोज्न जाँदा बाढीको भँगालोमा फसेका स्थानीय तीन महिलाहरूलाई पनि सेनाले उद्धार गरेको छ । साथै धनुषा रमौली गाउँपालिका–२ स्थित कमला नदीको बीच बगरको नर्सरीमा कुटी बनाई बसेका ६० वर्षीय बाबु गिरी (बाबा)लाई पनि उद्धार गरी आफन्तको जिम्मा लगाइएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बाढीले कटान गरेका स्थानहरूमा तटबन्ध निर्माण र विभिन्न ठाउँमा गएको पहिरो पन्छाउने काममा सक्रिय रहेको सेनाले जनाएको छ ।