
नेकपा एमाले केन्द्रीय कमिटीको १३ औं बैठकको दोस्रो दिनको बैठकमा पार्टीमा संगठनात्मक प्रतिवेदन र महाधिवेशनको विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसिरहेको बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् ।
महासचिव पोखरेलको प्रस्तावमा २०७९ वैशाख ३० गत भित्र दशौं महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।
यसअघि २०७८ मंसिरमा महाधिवेशन गर्ने निर्णय भएको भएपनि मंसिरमा प्रतिनिधि सभाको मिति घोषणा भएकोले वैशाखमा महाधिवेशन गर्न प्रस्ताव गरिएको एक सदस्यले जानकारी दिए ।
महासचिव पोखरेलले असार मसान्त भित्र सदस्यता नवीकरण गर्न र साउन १५ भित्र स्थानीय तहका वडामा महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनमा पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले आफूहरु तर्फको सदस्यता कसरी टुंगाउने भनेर प्रश्न गरेका छन् ।
‘पूर्व माओवादीको तर्फबाट एमालेमा आएका र सदस्यता रेकर्ड नभएकालाई कसरी समेट्ने ?’ भनेर पूर्व माओवादी पृष्ठभूमिका नेताहरुले कुरा उठाएको बैठकमा सहभागी एक नेताले बताए ।
समसामयिक प्रस्ताव पारित गर्दै बैठक शनिवार नै समापन गर्ने तयारी भएको छ । शुक्रवारको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर सोमवार भित्र फिर्ता गर्न निर्देशन दिएको थियो ।
शनिवारको बैठक अघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन संवाद भएको थियो । माधव नेपाल पक्षले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गर्न अस्वीकार गरेको छ ।